दैनिक १ लाख ६३ हजार ब्यारेल तेल उत्पादन कटौती गर्ने यूएईको घोषणा

gettyimages

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले दैनिक १ लाख ६३ हजार ब्यारेल तेल उत्पादन कटौती गर्ने भएको छ ।

यूएईले सन् २०२४ को जनवरी १ देखि मार्च ३१ सम्म दैनिक १ लाख ६३ हजार ब्यारेल तेल उत्पादन घटाउने भएको हो । हाल दैनिक ३० लाख ७५ हजार ब्यारेल तेल उत्पादन गर्दै आएकाे यूएईले २०२४ देखि प्रतिदिन २९ लाख १२ हजार ब्यारेल तेल उत्पादन गर्नेछ ।

तेल बजारलाई स्थिर र सन्तुलित बनाउन तेल निर्यात गर्ने देशहरू (ओपेक प्लस)को सहकार्यमा यूएईले स्वेच्छिक रुपमा उत्पादन कटौती गर्ने निर्णय गरेको हो ।

यूएईले यसअघि सन् २०२३ को अप्रिलमा दैनिक १ लाख ४४ हजार ब्यारेल तेल उत्पादन कटौती गर्ने निर्णय गरेको थियो। सो निर्णय अहिले लागू भइरहेको छ भने यो वर्षको अन्त्यसम्म लागू हुनेछ ।

नयाँ वर्षदेखि थप उत्पादन कटौती गर्ने घोषणा गरेको हो । त्यसपछि पनि बजारको अवस्था हेरेर निर्णय गर्ने जनाएको छ ।

ओपेक प्लस देशहरूले पनि यसअघि नै सन् २०२४ को पहिलो तीन महिना दैनिक २२ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरिसकेका छन् ।

विश्वका ठूला तेल उत्पादकहरूले उत्पादन कटौती गर्दा मूल्यमा प्रभाव पर्ने जानकारहरू बताउँछन् । साविकको उत्पादन कटौती गर्दा बजारमा आपूर्ति कम भई माग बढ्ने र मूल्य समेत बढ्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here