विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पूर्जी, ३५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।

२०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) ३५ दिनको पक्राउ पूर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।

प्रहरीले उनीहरू फरार भएको भनेपछि अदालतले ३५ दिनभित्र पक्राउ पुर्जी जारी गर्न आदेश गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

त्यस्तै राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।