धनगढी, २३ भदाै । सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुनेभएको छ ।
गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन उक्त कलेजको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ ।
भौतिक पूर्वाधार निर्माणको काम भइरहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिए ।
आर्थिक वर्ष २०७३/७४ देखि सात प्याकेजमा कलेज निर्माणको काम शुरु भएको हो । ‘भवनको भित्री सबै काम पूरा भइसकेको छ”, साउदले भन्नुभयो । छ सय शय्या रहने सो कलेज निर्मणको काम कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको छ । दुई प्याकेजमा भवन निर्माण गरिरहेको साउदले बताए ।
कलेजमा हाल सानाठूला गरी २७ वटा भौतिक संरचना निर्माण भइरहेका छन् । कलेजको छात्रवास निर्माणको जिम्मा पाएको लुम्बिनी रमण केएस जेभीले ७० प्रतिशत काम सम्पन्न गरेको छ ।
‘एक वर्षपछि चिकित्सा शिक्षाको पढाइ शुरु हुनेछ’, साउदले भने । सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएको उक्त कलेज निर्माणको घोषणा आव २०६६/०६७ मा भएको हो । कलेज सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ ।
‘आवश्यकताअनुसार थप पूर्वाधार निर्माण गर्दै जानेछौँ’, उनले भने । प्रदेशमा हालसम्म एउटा पनि मेडिकल कलेज छैन । (रासस)