मौद्रिक नीतिमा लचकताले लगानीकर्ता उत्साहित, एक दर्जन बढी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । आइतबार शेयर बजारमा तीन पटकसम्म सर्किट ब्रेक लागेर कारोबार बन्द भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १११ अंक बढेको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंकदर र शेयर कर्जाको जोखिम भार समेत घटाएपछि लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको हो ।

राष्ट्र बैंकले शेयर कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको छ । त्यस्तै, बैंकदर र नीतिगत दरहरु घटाउँदा ब्याजदर सस्तिने भएकाले लगानीकर्ता थप आशावादी बनेका हुन् ।

आइतबार जम्मा ९ मिनेट कारोबार हुँदा नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३.९८ विन्दुमा पुगेको छ । यस अवधिमा ४८ करोड २८ लाख रुपैयाँ बढीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर किनबेच भएको छ ।

यसदिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ८.६३ प्रतिशतले बढेको छ । कारोबारमा आएका २४४ कम्पनीमध्ये २२७ कम्पनीको शेयर मूल्य बढेको छ ।

आज माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३ करोड बढीको शेयर किनबेच भएको छ ।

तेहेरो अंकको छलाङ मारेको बजारमा दर्जन बढी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रोपावर, शुभम पावर र कालिन्चोक दर्शनको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, इङ्वा हाइड्रोपावर, त्रिशुली जलविद्युत्, युनियन हाइड्रो, खानीखोला हाइड्रोपावर, नेपाल एसबीआई बैंक, चन्द्रागिरी हिल्स, सिंगटी हाइड्रो, हिमालयन ऊर्जा, समता लघुवित्त, ङादी ग्रुप पावर, सीवाइसी लघुवित्त, आशा लघुवित्त लगायत डेढ दर्जन कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here