सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने

काठमाडौं । सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ। सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द सडक हुने छ भने अत्यावश्यक सवारीसाधनलाई रोक नलगाइएको प्रशासनले जनाएको छ ।

सुरुङ निमार्ण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेसनले सुरुङ निमार्ण कार्य गर्दा यातायात सञ्चालन गरी काम गर्दा जोखिम हुने भएकाले रातिको समयमा सडक बन्द गरेर काम गर्न लागेको हो । ​

जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सडक बन्द हुने विषयको सूचना प्रभावकारी रुपमा सम्प्रेषण गरी सम्बन्धित नियामक निकाय, समन्वय गर्ने निकाय, यातायात सेवा कम्पनी, राजमार्ग प्रयोगकर्तालाई पूर्ण जानकारी गराउने निर्णय गरेको छ।

सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएर एक वर्षअघिदेखि काम सुरु गरेको छ ।

सुरुङमार्गको दूरी दोभानदेखि सिद्धबाबासम्म एक हजार एक सय २६ मिटरको हुनेछ । अहिले सञ्चालनमा रहेको सडकमा भने रकनेट र रकसेडका काम हुने छन् ।