उपचारको रकम तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमै

इलाम । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् ।

उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए ।

६ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि घर ल्याउन नसकिएको परिवारजनले गुनासो गरेका छन् ।

दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भने, ‘महिनाअघि नै ठूलोबुबा (दुर्गाप्रसाद)लाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको छ ।’

गोपालले दुर्गाप्रसादको थप उपचारका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट सहयोगको प्रस्ताव आइरहे पनि अहिले राखिएको अस्पतालबाट निकाल्न नसकिएको बताएका छन् ।

उनले भने, ‘उपचारमा त्यहाँ सात लाख १५ हजार खर्च भएको थियो । तीन लाख रुपैयाँ त बुझायौँ, बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा ठूलोबुबा अस्पतालमै बस्नुपरेको छ । पैसा नतिरी उहाँलाई अस्पतालबाट ल्याउन सकिँदैन ।’

अस्पतालमा छ महिनाअघि नै चार लाख १५ हजार रुपैयाँ बाँकी भएको जनाउँदै उनले अहिले हिसाब–कति पुग्यो थाहा थाहा नभएको बताए ।

उनले भने, ‘अस्पतालले बारम्बार फोन गरिरहेको छ । ठूलोबुबालाई भारतीय ‘हाइकोर्ट’को आदेशअनुसार दिइएको रकम पनि यसअघिकै उपचारमा धेरै खर्च भइसकेको छ ।’

थप उपचारका लागि इलामस्थित मानवअधिकार मञ्चले समेत दुर्गाप्रसादलाई अस्पतालसम्म लैजान सहयोग गरेको तर अहिले रकम नहुँदा अस्पतालबाट निकाल्न नसकिएको गोपालको भनाइ छ ।

ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनका अध्यक्ष डा.गिरिराज भन्टानाले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताए।

उनले भने, ‘दुर्गाप्रसादमा देखिएको रोग सिजिफोर्नियाँ हो । शत्प्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।’

उनले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको जानकारी दिए ।

दुर्गाप्रसाद जेलबाट छुटेर आएपछि उनीमा मानसिक समस्या देखिएकाले विराटनगरमा समेत १७ दिन उपचार गरिएको गोपालले बताए।

उनले भने, ‘विराटनगरमा गरिएको उपचारले समेत निको नभएपछि चितवन लगिएको हो । अहिले चाहिँ निको भइसकेको बिरामीलाई अस्पतालबाट निकाल्न सकिएको छैन ।’

इलामको माई नगरपालिका १०, लुम्बाक घर भएका दुर्गाप्रसादलाई २०७७ साल चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो ।

उनी २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल पर्नुभएका उनी २०७७ साल फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला परे ।

विभिन्न संघसंस्थाको पहलमा उनलाई २०७७ साल चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो । अहिले उहाँकी आमाको निधन भइसकेको छ ।

इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले उनको केही उपचार निःशुल्क गरिदिएको थियो ।

उनको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार रूपैयाँ नगद प्रदान गरेको थियो ।

उपचारपछि घर आएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उहाँलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here