ग्लोबल आइएमई बैंकद्धारा लुम्बिनी र कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रैनादेवी छहरा गाँउपालिका–४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ जर्बुटा स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो ।

लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढी महिलाहरूले आफ्नो स्वास्थ्य चेकजाँच गराएका छन् । यही पुस १७ गतेदेखि ग्लोबल आइएमई बैंक १७ औँ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ ।

उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरू निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here