बाफिया संसदमा दर्ता, दुरुस्तै पारित भए बैंकर र व्यवसायी छुट्टिने

काठमाडौं २६, भदौं । संशोधनको क्रममा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संसदमा दर्ता भएको छ । विधेयकमा बैंकर र व्यवसायी छुट्ट्याउने, सञ्चालक र प्रमुख कार्यकारीको उमेर हद, सञ्चालकको योग्यता, सुशासनलगायत विषयहरु संशोधन गरिएको छ । प्रस्ताव गरिए अनुसार नै विधेयक पारित भए वित्तीय क्षेत्र प्रभावकारी र सुशासित हुने जानकारहरुले बताएका छन् ।

एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गर्दा स्वार्थ बाँझिने भएकाले वित्तीय क्षेत्रमा समस्या आएको निष्कर्षका आधारमा राष्ट्र बैंकले बैंकर र व्यवसायी छुट्ट्याउन चाहेको हो ।

बैंकिङ क्षेत्रमा बैंकर र व्यवसायी छुट्टयाउन पहल नयाँ होइन । यसअघि पनि बाफियामा यो व्यवस्था राखिएको थियो । तर, पछि संशोधन हुने क्रममा त्यो विषय हटाइयो ।

यसपाली बाफियाको पहिलो संशोधनमा फेरी सोही विषय प्रस्ताव गरिएको हो । यो विषय पारित भए एउटै व्यक्तिले बैंक र व्यवसाय चलाउन पाउदैनन । भारत लगायत अन्य राष्ट्रमा पनि व्यवसायीले बैंक चलाउन नपाउने व्यवस्था छ ।

‘बाफियामा सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्थामा तोकिएको प्रतिशतभन्दा बढी लगानी भएको व्यक्ति सञ्चालक बन्न नपाउने व्यवस्थाका लागि प्रस्ताव छ,’ विधेयकमा प्रस्ताव गरिएको छ ।

आफैं बैंक चलाउने र आफ्नै व्यवसायका लागि त्यसबाटै ऋण लिने गरेकाले विगतमा १६ वटा वित्तीय संस्था समस्याग्रस्त भएका थिए ।
विद्यमान व्यवस्था अनुसार एउटा बैंकको सञ्चालक रहेको व्यक्तिले सोही बैंकबाट ऋण लिन नपाउने भए पनि उसले अर्कोबाट ऋण लिन सक्छ । यो व्यवस्थालाई कडाइ गर्न खोजिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here