माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको ऋण सम्झौता, जुट्यो ७ अर्ब ४० करोड लगानी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।

निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ । इक्विटीमा प्राधिकरण र सर्वसाधारणको लगानी रहनेछ ।

एनएमबी बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी एचआईडीसीएल)ले सहवित्तीयकरणमार्फत आयोजनामा निर्माण अवधिको ब्याजसहित सात अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । कुल ऋणमध्ये एनएमबी बैंकको चार अर्ब ४० करोड र एचआईडीसीएलको ती अर्ब रुपैयाँ रहने प्राधिकरणले जनाएको छ ।

सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आयोजनाको प्रवर्द्धक मोदी जलविद्युत् कम्पनी, एनएएमबी बैंक र एचआईडीसीएलका अधिकारीबीच त्रिपक्षीय ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको चार वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माण तयारीका काम जारी छ । निजी जग्गा अधिग्रहण र वन क्षेत्रको जमिन प्रयोगका निम्ति स्वीकृति प्राप्त भइसकेको प्राधिकरणले जानकारी गराएको छ ।

आयोजनाको निर्माण सुपरीवेक्षण परामर्शदाताका निम्ति एनईए इन्जिनियरिङ कम्पनीसँग सम्झौता भइसकेको छ । कम्पनीले १८.२ मेगावाटको माथिल्लो मोदी जलविद्युत् आयोजनाको समेत निर्माण गर्ने प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here