आयात नरोकिँदा संकटमा नेपालका औषधि कम्पनी: ४० प्रतिशत उत्पादन घट्यो, २० प्रतिशत बेरोजगार

काठमाडौं । नेपाली औषधि उत्पादनको क्षेत्रमा संकट देखा परेको छ। नेपालको अर्थतन्त्रमा देखापरेको समस्यासँगै औषधि उत्पादनको क्षेत्रमा पनि यसको असर देखा परेको हो।

कोभिड महामारी र त्यसपछि अर्थतन्त्रमा परेको प्रभावका कारण पछिल्लो समय आठवटा नेपाली औषधि उत्पादन कम्पनीको उत्पदान लगभग बन्द जस्तै देखिएको छ। सिधै उत्पादन बन्द भयो भन्दा बैंकको कर्जा लगायत अन्य प्राविधिक समस्या देखिने भएपछि संकटमा रहेका कम्पनीहरुले केही उत्पादन गरेको बताउँदै आइरहेका छन्।

स्वास्थ्यखबरले संकटमा रहेका केही औषधि कम्पनीहरुसँग कुराकानी गरेको थियो। सो क्रममा केहीले उत्पादनै ठप्प रहेको स्वीकार गरे भने केहीले बैंकको कर्जा, कानुनी अड्चन लगायतका कारण बन्द नै गरेको भनेर औपचारिक रुपमा भन्न नमिल्ने जानकारी दिएका छन्।

नेपालका ८३ वटा औषधि उत्पादक कम्पनीहरुमध्ये अहिले ८ वटा कम्पनीको उत्पादन बन्द छ। यस्तै थप १५ वटा कम्पनीको उत्पादन पनि बन्द हुने अवस्थामा पुगेको छ।

कोभिडदेखि नै उत्पादन बन्द भएको कम्पनी हो डेनियम ल्याब्रोटरिज प्राली। यो कम्पनीले विगतमा ५४ प्रकारका औषधिहरु उत्पादन गर्दै आइरहेको थियो। तर कोभिडमहामारी र त्यषसपछिको आर्थिक संकटका कारण कम्पनीले उत्पादन नै गर्न छाड्यो।

डेनियमका प्रबन्ध निर्देशक कुमार चौधरीले आफ्ना उत्पादन बन्द रहेको स्वीकार गर्दै भने, ‘हाम्रो कम्पनीको उत्पादन बन्द भएको लामो समय भइसकेको छ। कर्मचारीहरुलाई बिदामा राखेका छौं। बैंकको नीति र अन्य विविध कारणले गर्दा उद्योगमा आर्थिक संकट देखिएको हो।’ उनले कम्पनीबाट अब कहिलेबाट फेरि औषधि उत्पादन हुन्छ भन्ने विषय अझै अन्यौलमा नै रहेको जानकारी दिए।

विगत चार महिनादेखि उत्पादन बन्द भएको अर्को कम्पनी हो केमिड्रग इन्ड्रस्ट्रिज प्राली। वर्तमान आर्थिक संकटको असरभन्दा पनि कम्पनीको आफ्नै आन्तरिक कारणले उत्पादन बन्द भएको बताउँछन् कम्पनीका प्रबन्ध निर्देशक उत्तम द्वा। ‘हाम्रो आन्तरिक कारणले गर्दा उत्पादन बन्द भएको हो। छिट्टै नयाँ पार्टनरहरुसहित उत्पादनमा जानेछौं’ उनले भने, ‘नयाँ पार्टनरहरुसँग लगभग कुरा टुंगिसकेका कारण माघबाट फेरि उत्पादन गर्ने तयारी भइरहेको छ।’ उनले कम्पनीमा रहेका कर्मचारीहरुलाई बिदामा राखिएको र फेरि काममा लगाउने तयारी भइरहेको पनि जानकारी दिए।

भक्तपुरमा रहेको हुकुम फर्माको पनि उत्पादन बन्द भएको छ। ‘बन्द भएको त हो। फेरि राम्रो भएर चलाउने तयारी पनि छ,’ कम्पनीका एक उच्च तहका कर्मचारीले नाम नबताउँने शर्तमा भने, ‘अहिले सबैतिर संकट परेकोले यहाँ पनि अवस्था नाजुक भएको हो।’

जिडी फर्मास्युटिकल्स प्राली, अलायन्स फर्मास्युटिकल्स प्राली, विजयदिप फर्मास्युटिकल्स प्राली, शिव फर्मास्युटिकल्स ल्याब्रोटरिज र युनिभर्सल फर्मुलेसन प्राली अहिले संकटमा परेका कम्पनी हुन्। यी कम्पनीका पनि उत्पादन बन्द नै छन्। तर कम्पनीहरुले भने केही प्रकारका औषधि उत्पादन गरिरहेको दाबी गर्दै आएका छन्।

शिव फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक मनोज अग्रवाल उत्पादन पूर्ण रुपमा बन्द भइनसकेको तर धेरै प्रकारका उत्पादन भने बन्द गरेको बताउँछन्। ‘सबै प्रकारका औषधिको उत्पादन बन्द गरेका भने छैनौं। पहिला ७०/८० प्रकारका औषधि उत्पादन हुन्थ्यो। अहिले हामी २०/२५ वटा मात्र उत्पादन गरिरहेका छौं,’ उनले भने। उनले नेपाल राष्ट्र बैंकको नीति, सरकारकै नीति तथा कानुन र अहिलेको बजारका कारण औषधि क्षेत्रमा समस्या आइरहेको बताए।

औषधि व्यवस्था विभागका एक कर्मचारीका अनुसार यीसहित थप १५ वटा कम्पनीको उत्पादन बन्द हुने अवस्थामा पुगेको छ। ‘औषधि कम्पनीहरुबीचको अस्वस्थ प्रतिस्पर्धा, उत्पादनको डुप्लिकेसन, बजारको अध्ययन बिना हचुवाका भरमा उत्पादन, छोटो समयमा नै धेरै नाफा कमाउने चाहना लगायतका कारण कम्पनीहरुमा समस्या देखिएको हो,’ ती कर्मचारीले भने, ‘यसमाथि अहिले झन् देशकै अर्थतन्त्रमा संकट आएका कारण कम्पनीहरु थप संकटमा परेका हुन्।’

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल उत्पादन बन्द भएका कम्पनीहरुका विषयमा औपचारिक जानकारी प्राप्त नभएको बताउँछन्। ‘समस्यामा परेका कुराहरु अनौपचारिक रुपमा केही आइरहेको छ,’ उनले भने, ‘तर औपचारिक रुपमा नै उत्पादन बन्द भएका कम्पनीको विषयमा अहिलेसम्म हामीलाई जानकारी छैन।’

‘४० प्रतिशत उत्पादन कम, २० प्रतिशत बेरोजगार’

नेपाली औषधि उत्पादक कम्पनीहरुले पछिल्लो केही समययता औषधि उत्पादन नै कम गर्दै आइरहेका छन्। कोभिड महामारीपछि अधिकांश कम्पनीको उत्पादन कम हुन थालेको एक औषधि उत्पादकले जानकारी दिए। कोभिडपछि औषधिको खपत समेत कम भएको र स्वास्थ्य बीमाका कारण विगतमा जस्तो बाहिर बजारमा धेरै मात्रामा औषधिको बिक्रि वितरण नहुँदा कम्पनीहरुमा समस्या आइरहेको उनले जानकारी दिए। यसका साथै कम्पनीहरुले विगतमा जस्तै बैंकहरुबाट धेरै मात्रामा ऋण नपाउँदा पनि समस्या भइरहेको उनी बताउँछन्।

‘पहिला पहिला वर्किङ क्यापिटल लोन टर्न ‌भरको ८० प्रतिशतसम्म पाइन्थ्यो। तर अहिले राष्ट्र बैंकले नयाँ नियम ल्याउँदै ५० प्रतिशत मात्र दिने व्यवस्था गर्दा कम्पनीहरु समस्यामा परेका छन्,’ उनले भने, ‘यसका साथै बजारमा औषधिको उधारो नै धेरै हुँने र स्वास्थ्य बीमाका कारण सरकारी अस्पतालका फार्मेसीबाट औषधि लैजाने जमात धेरै हुँदा पनि कम्पनीहरु मारमा परेका हुन्।’

उनका अनुसार देशको अर्थतन्त्रमा आएको समस्यासँगै औषधि पसलहरुले होलसेलरहरुको उधारो बाँकी नै राख्ने, होलसेलरले पनि पसलबाट पैसा नउठेको भन्दै कम्पनीमा धेरै रकम बाँकी राख्ने गर्दा पनि कम्पनीहरुले कच्चा पदार्थ खरसददेखि नयाँ प्रविधि भित्र्याउने र जनशक्ति थप गर्न नसकेका हुन्।

नेपाली कम्पनीहरुले तयार पारेको पछिल्लो अनौपचारिक विवरण अनुसार पछिल्लो दुई वर्षदेखि नेपालका कम्पनीहरुबाट उत्पादन हुने औषधिमा ४० प्रतिशतले गिरावट आएको छ। यसका साथै दुई वर्षदेखि कम्पनीहरुले नयाँ जनशक्ति थप समेत गरेका छैनन्। यही बीचमा कम्पनीहरु बन्द हुने र बन्दको मुखमा पुगेका कारण औषधि उत्पादनको क्षेत्रमा पछिल्लो समयमा २० प्रतिशत बेरोजगार भइसकेको उत्पादकहरु बताउँछन्।

‘कम्पनीहरुमा कोही कर्मचारी छाडेर विदेश गएको, उमेरका आधारमा अवकास लिएका वा विविध कारणले छाडेका छन् भने कम्पनीहरुले उक्त स्थानमा नयाँ कर्मचारी नै राखेका छैनन्,’ एक उत्पादक कम्पनीका सञ्चालकले भने, ‘चार पाँच वटा कम्पनीबाहेक अधिकांसमा अहिले समस्या देखिएको छ।’ उनका अनुसार पछिल्लो समय कम्पनीहरुले विगतमा जस्तो ओभर टाइम चलाउन समेत छाडेका छन्। भइरहेका कर्मचारीलाई काममा लगाउनका लागि आठ घण्टा मात्र कम्पनी चलाइरहेको अवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here