राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले साढे तीन लाखभन्दा बढी खर्च गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ । आयोगले आगामी माघ ११ गते हुने निर्वाचनका लागि कानूनको व्यवस्थाबमोजिम खर्चको सीमा तोकेको हो ।

‘२०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६(१) सँग सम्बन्धित अनुसूची-१ ले रु.३,५०,०००।- (अक्षेरेपी रू. तीन लाख पचास हजार मात्र) सम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ’, आयोगले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको छ।

उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।

त्यस्तै, निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी कानून बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्न समेत आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here