टी–२० आई सिरिजमा भारतको ‘क्लिन स्विप’ रोहित शर्माको कीर्तिमान

एजेन्सी । अफगानिस्तानविरुद्धको टी–२० आई सिरिज भारतले क्लिन स्विप गरेको छ । गएराति सम्पन्न अन्तिम खेलमा अफगानिस्तानलाई सुपर ओभरमा हराएसँगै तीन खेलको सिरिज भारतले ३–० ले क्लिन स्विप गरेको हो । उसले पहिलो र दोस्रो खेल समान ६ विकेटले जितेको थियो ।

तेस्रो खेलमा भारतले दिएको २ सय १३ रनको लक्ष्य पछ्याउनेक्रममा अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

पहिलो सुपर ओभर पनि बराबरीमा सकिएपछि खेलको नतिजा दोस्रो सुपर ओभरबाट लिइयो । जसमा भारत विजयी भयो । दोस्रो सुपर ओभरमा अफगानिस्तानले १२ रनको लक्ष्य पाएको थियो । तर, उसले सो लक्ष्य भेट्याउन सकेन ।

त्यसअघि भारतले दिएको २ सय १३ रनको लक्ष्य पछ्याउनेक्रममा अफगानिस्तानका शीर्षक्रमका तीन ब्याटर रहमानउल्लाह गुरबाज (५०), इब्राहिम जाद्रान (५०) र गुलबदिन नायब (५५) ले अर्धशतकीय पारी खेले ।

यस्तै, मोहम्मद नाबीले ३४ रन जोडे । भारतका लागि वासिङ्टन सुन्दरले तीन, कुलदीप यादव तथा आवेश खानले एक/एक विकेट लिए ।

त्यसअघि बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १२ रन बनायो ।

उसका लागि कप्तान रोहित शर्माले अर्धशतकीय इनिङ खेले । ६९ बलको सामना गरेका उनले ११ चौका र ८ छक्कासहित अविजित १२१ रन बनाए । योसँगै रोहित टी–२० आईमा सर्वाधिक शतक बनाउने ब्याटर बने ।

उनले अहिलेसम्म यस प्रारूपमा पाँच शतक बनाएका छन् । यस्तै, रिंकु सिंहले ३९ बलमा ६ छक्का र २ चौकाको सहयोगमा अविजित ६९ रनको इनिङ खेले ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । अफगानिस्तानका लागि फरीद अहमदले दुई र अजमातुल्लाह उमरजाईले एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here