युगान्डा लागे प्रधानमन्त्री प्रचण्ड, सरकार सम्हाल्ने जिम्मा पूर्णबहादुर खड्कालाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड यही माघ ७ गते बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सम्हाल्ने छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोकेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here