उद्योग मन्त्री यादवको व्यवसायीलाई सुझाव : नेकपाको गठबन्धनबाट सिक्नुस्

काठमाडौं, २६ भदौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले व्यवसाय तथा लगानीको विषयमा एउटै आवाज बनाउन निजीक्षेत्रलाई आग्रह गरेका छन् ।

निजी क्षेत्रका प्रतिनिधि मुलक संस्थाहरु नै आपसमा बाझिने प्रस्ताव लिएर मन्त्रालय धाउने गरेको तर्फ इंगित गर्दै मन्त्री यादवले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघजस्ता संस्थाहरुलाई व्यावसायिक एजेण्डामा एकै स्थानमा उभिन आग्रह गरेका हुन् ।

नेपाल उद्योग परिसंघले सरकारसँग मिलेर आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले सरकार एक्लै हिंडन नभइ निजीक्षेत्रलाई सँगै लिएर अघि बढ्न चाहेको बताएका छन् ।

तपाईंहरुले नेकपाको चुनावी गठबन्धनबाट सिक्नुपर्छ, कसरी दुई ठूला कम्युनिष्ट पार्टी मिलेर शक्तिशाली दल र सरकार बनाए, उनले भने ।

समयको गतिलाई समात्न सके मात्र समृद्धिको सपना साकार हुने पनि उनले बताएका छन् । ‘नजानेको विषय लुकाउने गर्दा समस्यामा आउने गरेको छ त्यसैले अन्य देशमा भएका राम्रा अनुभवबाट सिक्नु पर्छ,’ उनले भने ।

दुई दिने सम्मेलनको समापन समारोहमा बोल्दै मन्त्री यादवले विकासका लागि स्रोत साधन, प्रविधि र शिप आवश्यक रहने पनि बताए ।
सरकारले लगानी सुरक्षाको प्रत्याभुति गर्ने वताउदै उनले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । ‘नीति नियम सुधार गर्न सरकार तयार छ, ढुक्क भएर लगानी गर्नुभए हुन्छ’ उनले भने ।

नेपाललाई मजदुरको देश भन्दा चित्त दुखेको प्रंसग उल्लेख गर्दै मन्त्री यादवले विकासको आकांक्षा पूरा गर्न सरकार र निजीक्षेत्रबीचको सहकार्यमा जोड दिए । आन्तरिक उत्पादनमा ध्यान नपुग्दा बाहिर माग भए पनि पुर्याउन नसकिएको उनको भनाइ थियो । विकासका एजेण्डमा सरकार र निजी क्षेत्रको एउटै आवाज हुनुपर्नेमा उनले जोड दिए ।

‘नेपालमा लगानी गर्न सहज वातावरण सरकारले बनाउँछ, लगानीको लागि सबै क्षेत्र खाली छ, आउनुस लगानी गर्नुस’ उनले लगानीकर्तालाई आग्रह गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले दिगो पूर्वाधार विकास अहिलको आवश्कता रहेकोमा जोड दिए ।

‘संक्रमणको अन्त्य गर्न पूर्वाधारको विकास र दृढ इच्छाशक्ति महत्वपूर्ण हुन्छ,’ उनले भने । सरकार स्वयम पूर्वाधार सम्मेलनमा सहभागी हुनु सरकात्मक भएको भन्दै निजी लगानी परिचालन भए आर्थिक क्रान्ति सफल हुने उनले बताए ।

सम्मेलनको नलेज पार्टनरको रुपमा रहेको केपीएमजीका उपप्रमुख कार्यकारी अधिकृत अखिल बंसलले छोटो समयमा नेपालले लिएको स्तरोन्नतीको लक्ष्य प्राप्त गर्न सहज नभए पनि त्यसतर्फको यात्रा प्रारम्भ हुनु सराहनीय कार्य भएको बताए ।

उर्जा र पर्यटन क्षेत्रबाट सबैभन्दा सजिलै छिटो प्रतिफल लिन सकिने भन्दै त्यस क्षेत्रमा लगानी बढाउन सके विकासको गति वृद्धि हुने पनि उनले बताए ।
समापन समारोहमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वधार सम्मेलन उपलब्धिपूर्ण भएको धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here