एकैदिन २६ अर्ब निक्षेप संकलन, २७ अर्ब ऋण लगानी

काठमाडौं । पछिल्लो एक महिना यता कर्जा विस्तारमा पनि सुधार देखिएको छ । चालु वर्षको ५ महिनामा करिब १ खर्ब मात्र कर्जा लगानी गरेका बैंकहरूले पुसमा मात्रै पौने खर्ब कर्जा लगानी गरेका छन् ।

पुस मसान्त (२९ गते) बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन र कर्जा लगानी उल्लेख्य रुपमा वृद्धि गरेका छन् । सो एकैदिन बैंक तथा वित्तीय संस्थाले २६ अर्ब निक्षेप संकलन गरी २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

पुस २८ गते ६१ खर्ब ४ अर्ब रुपैयाँ रहेको निक्षेप पुस २९ गते ६१ खर्ब ३० अर्ब पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै, पुस २८ गतेसम्म कुल ५० खर्ब ५९ अर्ब रुपैयाँ रहको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भोलिपल्ट ५० खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । अर्थात् पुस मसान्तको दिन मात्रै बैंक तथा वित्तीय संस्थाले २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यद्यपि, सो दिन बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा भन्दा पनि पुरानो ऋण नवीकरण तथा पुनर्संरचना गरेकाले ऋण लगानी ह्वात्तै बढेको देखिएको हो । राष्ट्र बैंकले २०८० असार मसान्तसम्म सक्रिय ऋणीले आगामी चैत मसान्तसम्म ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको छ । सोही सुविधा अन्तर्गत बैंकले ऋणको पुनर्संरचना गर्दा कर्जा लगानी बढेको देखिएको हो ।

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ । प्रणालीमा सवा ६१ खर्ब निक्षेप रहेको छ । सोमध्ये साढे ६ खर्ब रुपैयाँ बढी लगानी योग्य रकम छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ८० प्रतिशत हाराहारीमा छ । जबकि राष्ट्र बैंकले यस्तो सीमा ९० प्रतिशत तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here