एनआईसी एशियाको नाफामा गिरावट

काठमाडौं । एनआईसी एशिया बैंकको खुद नाफामा ४१.८४ प्रतिशत गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफामा भारी गिरावट आएको देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.८४ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा एनआईसी एशियाले तीन अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफामा भारी गिरावट भएको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशत घटेको छ । त्यस्तै, खुद फि तथा कमिशन आम्दानी १६.३५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.९६ प्रतिशत र सञ्चालन मुनाफा २४.१३ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपियाँ ऋणात्मक रहको छ ।

दोस्रो त्रैमाससम्म एनआईसी एशियाको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४७ करोड रुपियाँ ऋणात्मक रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४८ करोड धनात्मक भएको छ ।

समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३१ रुपियाँ ९ पैसा घटेर २५ रुपैयाँ ५२ पैसामा झरेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपियाँ १० पैसा रहेको छ।

एनआईसी एशियाको जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ सञ्चित छ । पुससम्म बैंकले तीन खर्ब ८१ अर्ब २६ करोड रुपियाँ निक्षेप संकलन गरी दुई खर्ब ९३ अर्ब ८० करोड रुपियाँ कर्जा लगानी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here