एभरेष्ट बैंकको खुद नाफाभन्दा वितरणयोग्य नाफा धेरै

काठमाडौं । एभरेष्ट बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ७.८८ प्रतिशतले बढेको छ ।

बैंकले पुस मसान्तसम्म १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १३ करोड रुपैयाँ बढी हो । बैंकले गत वर्ष सोही अवधिमा १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि संचालन मुनाफा बढ्दा नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.२७ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड रुपैयाँमा सीमित भएको छ । यस अवधिमा बैंकको सञ्चालन नाफा भने ७.९० प्रतिशतले बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप ८.०१ प्रतिशत र कर्जा लगानी ५.६५ प्रतिशतले बढेको हो ।

हाल ११ अर्ब ७६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ४० करोड रुपैयाँ, सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा ११ अर्ब ४२ करोड रुपैयाँ संचित छ । पुससम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ४० करोड रुपैयाँ छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१.४५ रुपैयाँबाट बढेर २९.१२ रुपैयाँ पुगेको छ ।

पुससम्म बैंकको प्रतिसेयर नेटवथ २१९.५७ रुपैयाँ, बेसरेट ८.६९ प्रतिशत, खराब कर्जा ०.७७ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here