चार विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ५ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलोे त्रैमासमा राष्ट्र बैंकले गरेको अनुसन्धानको क्रममा नियम उल्लंघन गरेको पाइएपछि ४ विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।

राष्ट्र बैंक सुपरीवेक्षण विभागका अनुसार कारबाहीमा पर्नेमा एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र रिलायन्स फाइनान्सरहेका छन् ।

राष्ट्र बैंकले कारबाहीमा पर्ने बैंकहरुलाई कारबाही स्वरुप सचेत गराएको छ । एक्सेलले रियल स्टेट र सेयर कर्जा स्वीकृत गर्नुपूर्व ऋणी कम्पनीले उल्लेख गरेको कर्जाहरुको प्रयोजन, उद्देश्य, कर्जा उपयोग हुने क्षेत्र वा आधार, कर्जाको सावाँ ब्याज चुक्ता हुने आधारलगायतका विवरणहरुको विश्लेषण नगरेको र कर्जाको सदुपयोग भएको पनि नपाइएको भन्दै राष्ट्र बैंकले सञ्चालक समितिलाई सचेत गराएको छ ।

त्यस्तै, गरिमा विकास बैंकले कालिका लघुवित्त वित्तीय संस्थाका पूर्व अध्यक्षले संस्थाको अध्यक्षबाट राजीनामा गरेको १ वर्ष पूरा नहुँदै आफ्नो नाममा रहेको कर्जा नियमित गर्न सेयर धितो कर्जा दिने कार्यमा संलग्न रहेको पाइएकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

सिन्धु विकास बैंकको सञ्चालक समितिका अध्यक्ष तथा सबै सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतलाई समग्रमा संस्थाको आन्तरिक नियन्त्रण प्रणाली निकै कमजोर रहेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ ।

त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावत र तत्कालीन अध्यक्ष राजेन्द्र वीर रायलाई ५ लाख रुपैयाँका दरले जरिवाना गरेको छ ।

रिलायन्स फाइनान्सको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई निक्षेपकर्ताको हितविपरीत कार्य गरेको भन्दै राष्ट्र बैंकले नसिहत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here