जीवन बीमा कम्पनीले ६ महिनामै संकलन गरे ७४ अर्ब प्रिमियम, कुनले कति ?

काठमाडौं, १२ माघ । जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनी र ३ लघु जीवन बीमा कम्पनीले पुस मसान्तसम्म ७४ अर्ब २४ करोड ५८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । कम्पनीहरुले आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै आईरहेका छन् ।

चालु आवको पुस मसान्तसम्म १४ जीवन बीमा कम्पनीले ७४ अर्ब २२ करोड र ३ लघुबीमा कम्पनीले २ करोड ५२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

नेपाली जीवन बीमा कम्पनीमा सबैभन्दा धेरै बजार हिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निरन्तर आफूलाई अग्रपंक्तिमा राख्दै आएको छ । कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा शुल्क संकलन गरेको छ ।

यस अवधिमा नेपाल लाइफले मात्रै २० अर्ब २ करोड रुपैयाँ संकलन गरेको छ । यो कुल व्यवसायको २६.९६ प्रतिशत हिस्सा हो । यसैगरी , यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले दोस्रो धेरै ८ अर्ब ५६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यस्तै, हिमालयन लाइफले ८ अर्ब ९ करोड, राष्ट्रिय जीवन बीमाले ४ अर्ब ७५ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८ अर्ब ६६ करोड, एशियन लाइफ ३ अर्ब ७२ करोड बीमा शुल्क संकलन गरेका छन् ।

यस्तै, सूर्यज्योति लाइफले ४ अर्ब २८ करोड, मेट लाइफ २ अर्ब ६८ करोड, आइएमई लाइफ २ अर्ब १० करोड, सन नेपाल १ अर्ब ७८ करोड, रिलायबल लाइफ १ अर्ब ९३ करोड, सिटिजन लाइफ २ अर्ब ७३ करोड, सानिमा लाइफ २ अर्ब ८५ करोड र प्रभुमहालक्ष्मी लाइफले सबैभन्दा कम २ अर्ब ३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

समीक्षा अवधिमा लघुबीमा कम्पनीको व्यवसाय भने न्यून रहेको छ । गत वर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले चालु आवको ६ महिनामा जम्मा २ करोड ५२ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् ।

जसमा गार्डियन माइक्रो लाइफले ६६ लाख ३६ हजार, क्रेष्ट माइक्रो लाइफले १ करोड ५७ लाख र लिबर्टी माइक्रो लाइफले २८ लाख २६ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here