फुटपाथ व्यवसायीले काठमाडौँ महानगर घेराउ गर्ने

काठमाडौं । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते बृहत् सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ।

शुक्रवार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएर १६ गते व्यापक जनप्रदर्शनसहित महानगरमा धर्ना दिने र बीचमा सबै फुटपाथ व्यवसायीलाई एक ठाउँमा ल्याएर माघ २८ गते बृहत् सडक आन्दोलन गर्ने कार्यक्रम तय गरिएको बताएको छ।

नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले स्वरोजगार श्रमिकको अधिकार स्थापित गर्न माघ १७ गते जिल्ला प्रशासन कार्यालय, १८ गते गृह मन्त्रालय, १९ गते प्रधानमन्त्री कार्यालयमा र प्रमुख दलका पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए।

उनले एक हप्ता सबै स्वरोजगार श्रमिकहरूलाई एक ठाउँमा ल्याएर माघ २८ गते थालचम्चा सहित ठूलो जनसहभागितामा सडक आन्दोलन तथा महानगर घेराउ गर्ने कार्यक्रम तय भएको बताए। उनले काठमाडौं महानगरले फुटपाथ र साना व्यवसायीको माग अहिलेसम्म सम्बोधन नगरेकाले आन्दोलन गर्न बाध्य भएको बताए।

उनले महानगरले फुटपाथ व्यापारीहरूको जफत गरेको सामान फिर्ता गर्न माग गरे। उनले निम्न वर्गका व्यवसायीको सामान कब्जा गरी लिलाम गर्ने काम महानगरले तत्काल रोक्नुपर्ने बताए। उनले स्वरोजगार श्रमिकका लागि वैकल्पिक कार्यस्थलको सुनिश्चित गरी महानगरभित्रका सबै वडामा सस्तो बजार व्यवस्था गर्न माग गरे।

उनले वैकल्पिक व्यवस्था नगरेसम्म महानगरले अहिले फुटपाथ व्यवसायीहरूले व्यवसाय गरिरहेको स्थानमा उचित समय निर्धारण गरी व्यवसाय सुचारु गर्न दिन माग गरे। उनले महानगरले स्वरोजगार व्यवसायीलाई पञ्जीकरण गर्न सम्झौता भए पनि कार्यान्वयन गर्ने भन्दा बढी व्यवसायीहरूलाई धरपकड गर्ने काम भएको बताए। फुटपाथ व्यापारीको उचित व्यवस्थापनका लागि मेयर तथा उपमेयरको संयोजकत्वमा संघर्ष समितिका प्रतिनिधिसहित उच्चस्तरीय व्यवस्थापन कार्यदल बनाउनुपर्ने उनको माग छ।

महानगरले फुटपाथ र साना व्यवसायीलाई निर्मम ढंगले लखेट्ने धरपकड गर्ने काम तत्काल रोक्नुपर्ने नेपाल स्वरोजगार व्यापार श्रमिक संघकी अध्यक्ष माया गुरुङले बताइन्। उनले ७ बजेपछि सडक पेटीमा व्यापार गर्ने महिलालाई महानगर प्रहरीले अमानवीय व्यवहार गरी सामान लुट्ने गरेको बताइन्।

उनले फुटपाथमा बेलुका दुई घण्टा व्यापार गरेर दुई छाक टार्ने निम्न वर्गका व्यापारीलाई महानगरले अमानवीय व्यवहार गर्ने गरेको बताइन्। उनले फुटपाथ व्यवसायीको समस्या समाधानका लागि भएका महानगरले गरेको ४ बुँदे सम्झौता कार्यान्वयनमा नगरेको आरोप लगाइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here