विश्व सम्पदा सूचीको मनोनयनमा तिलौराकोट

काठमाडौं । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवम् युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई औपचारिक रूपमा मनोनयन दस्तावेज पेस गरेका छन् ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले विज्ञप्ति जारी गर्दै फ्रान्सको पेरिसमा रहेको विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेज पेस हुनु निकै खुसीको कुरा भएको बताएका छन् ।

तिलौराकोट सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सुचीकृत गर्ने तयारीसहित कोषका तर्फबाट आवश्यक प्रक्रिया शुरु भएकाले सबैको सकारात्मक साथ र सहयोग हुने अपेक्षा गरिएको सदस्य सचिव शाक्यले बताएका छन् । युनेस्को जापानिज फन्ड इन ट्रस्ट परियोजनाअन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्त्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरू जुटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here