६ महिनामा झन्डै १३ हजार सवारी दुर्घटना, ११३७ जनाको मृत्यु

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा देशभर भएका सवारी दुर्घटनामा १ हजार १३७ जनाले ज्यान गुमाएका छन् । चालु आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १ हजार १३७ ले ज्यान गुमाएका हुन् ।

ज्यान गुमाउनेमा पुरुष ८५४, महिला २०९, बालक ५० र बालिका २४ रहेका प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा १६ हजार ३३५ जना घाइते भएका छन् ।

३ हजार २१३ गम्भीर र १३ हजार १२२ जना सामान्य घाइते भएका ढकालले बताए । ‘डिजिटल प्रविधि, सिसिटिभी जडान, ट्राफिक लाइट, मापसे चेकिङलगायतलाई प्रहरीले प्राथमिकता दिएको छ । योसँगै प्रहरीले दुर्घटना कम हुने विश्वास लिएको छ,’ उनले भने।

प्रवक्ता ढकालका अनुसार सो अवधिमा देशभर १२ हजार ८५६ वटा सवारी दुर्घटना भएका छन् । काठमाडौँ उपत्यकामा ५ हजार ८६५, कोशी प्रदेशमा १ हजार ६३९, मधेसमा ३ हजार १९०, बागमतीमा ७०६, गण्डकीमा १९५, लुम्बिनीमा ६०६, कर्णालीमा ४९५ र सुदूरपश्चिम प्रदेशमा १६० सवारी दुर्घटना भएका छन् ।

दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको तथ्याङ्क हेर्दा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ ।

तीव्र गति, यात्रुले बाटो काट्दा, मापसे र लापसे, ट्राफिक नियम उल्लङ्घन, सवारी चालक अनुमतिपत्र प्राप्त नहुनु, ओभरटेक, ओभरलोड, ब्रेक फेल, मोबाइल फोनको प्रयोग, यान्त्रिक गडबडी, झुण्डिएर यात्रा गर्नु, जीर्ण तथा कच्ची सडक, उकालो ओरालो, हुस्सुकुहिरो, बाढीपहिरो र चौपायलगायत कारणले दुर्घटना हुने गरेको प्रवक्ता ढकालको भनाइ थियो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुर्घटना बढी हुने स्थानमा निरन्तर चेकजाँच गर्ने, सचेतनामूलक चिह्न राख्नेलगायत काम गरिरहेको बताए । उपत्यकाका साँघुरा सडकमा तीव्र गतिमा सवारी साधन चलाउँदा बढी दुर्घटना हुने गरेको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here