विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

१५ असोज, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने भएको छ । वर्षायामका महिनाहरुमा आफ्ना ग्राहकहरुलाई विक्री गरी बढी हुने जगेडा विद्युत भारतीय विद्युत व्यापार कम्पनी टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्स्चेन्ज माध्यमबाट भारतीय विद्युत बजारमा बिक्री गर्ने निर्णय भएको प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए ।

शाहीकाअनुसार विद्युत खरिदरविक्री सम्झौताको मस्यौदा स्वीकृत गरी सम्झौता गर्ने सम्बन्धमा प्राधिकरण सञ्चालक समितिको असार २५ को बैठकमा छलफलमा विद्युत नियमन आयोगको परामर्श लिई पुन पेश गर्न निर्णय भएको थियो । यस सम्बन्धमा विद्युत नियमन आयोगले भदौ २ गते बैठक बसी सहमति प्रदान गर्ने निर्णय गरेको थियो । आयोगबाट सहमतिसहितको निर्णयको जानकारी भदौ ८ मा पाएको प्राधिकरणले असोज ३ गते बिजुली बेच्ने निर्णय गर्दै विद्युत खरिदरविक्री सम्झौताको मस्यौदा स्वीकृत गरेको छ ।

आयोगको सहमतिपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले १ नोभेम्बर २०२६ देखि ३१ मे २०२९ सम्म हाललाई ८५.६ मेगावाट (साथै भविष्यमा दुई पक्षबीच पारस्परिक रुपमा सहमति भइ क्षमता थप गर्न सकिने) भारतको पावर एक्स्चेन्ज माध्यमबाट भरतीय विद्युत बजारमा बिक्री गर्न विद्युत खरिदरविक्री सम्झौताको संलग्न मस्यौदा स्वीकृत गर्न सञ्चालक समितिमा सिफारिस गरेका थिए ।

प्राधिकरणको सञ्चालक समितिले कार्यकारी निर्देशक श्रेष्ठको सिफारिसबमोजिम निर्णय गरेको हो । सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिजुली बेच्ने निर्णयमा हस्ताक्षर गर्दै विद्युत खरिद बिक्री सम्झौतामा प्राधिकरणको तर्फबाट हस्ताक्षर गर्न कार्यकारी निर्देशक श्रेष्ठलाई अख्तियारी दिएका छन् ।