काठमाडौँ, ७ मंसिर । काठमाडौं महानगरपालिकाले ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ को आज उद्घाटन गर्ने भएको छ । केही हप्ता अघि मात्रै ‘काठमाडौँ फिल्म फेस्टिभल’ सम्पन्न गरेको काठमाडौं महानगरपालिकाले आजबाट ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ सुरु गर्न लागेको हो ।
स्थानीय तहमा जलवायु परिवर्तनको असर घटाउन तथा अनुकूलनको प्रयासका लागि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आजबाट सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिइन ।
‘जलवायु परिवर्तनको प्रभावबारे हामी सबै भुक्तभोगी छौँ । त्यसबाट हामी कुनै न कुनै हिसावले प्रभावित छौँ,’ काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर डंगोलले भनिन् । हामीले फेर्ने श्वासदेखि पिउने पानी अनि हामी बस्ने सहरसम्म जलवायुबाट प्रभावित छ ।’
उनले त्यसको नकरात्मक असर सबैको जीवनमा परिरहेको भन्दै अब पनि गरौँला–हेरौँला भनेर बस्ने समय नभएकाले कार्यमै जानुपर्छ भनेर जलवायु कार्य सप्ताहको आयोजना गरेको जानकारी दिइन् ।
‘हामीले गर्नुपर्ने कार्यलाई पछाडि धकेल्नु हुँदैन, गरौँला–हेरौँला भन्ने फुर्सद हामीसँग छैन । त्यसैले हामीले कामनै गर्नुपर्छ भनेर ‘कार्य सप्ताह’ भनेको हो,’ उनले भनिन्,यसको अर्थ हेरौँला–गरौँला होइन कामनै गरौँ भन्ने हो । यो एक हप्ताको कार्यक्रममा काठमाडौँ महानगरपालिकाले केही न केही नयाँ कार्यको थालनी गर्दैछ ।’
कार्यवाहक मेयर डंगोलले आज विभिन्न पालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षले आफ्नो सहरमा जलवायु परिवर्तनको असर न्युनिकरणका लागि गरिहेका प्रयास र पहलहरु मात्रै होइन त्यसबाट को–को र कसरी प्रभावित छन् भनेर अनुभव सुनाउने कार्यक्रम रहेको जानकारी दिइन् ।
