अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चारजनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको छ।

मंगलबार थुनछेक बहसपछि न्यायाधीश कपिलमणी गौतमको इजलासले अधिकृत नरवीर खड्कासहित, अरुण दाहाल, सरोजकुमार यादव, मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे। यो प्रकरणमा मुछिएका अन्य ६ जनासँग धरौटी माग गरिएको छ।

यही मुद्दामा पक्राउ परेका गीता शाहसँग ५ लाख रुपैयाँ, पदम लामासँग १ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७/७ लाख तथा रविन अर्यालसँग १ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको छ।

मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागजात किर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।