ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम

२७ असोज, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ समस्याग्रस्त सहकारीको २३५ जनाको बचत फिर्ता गरेको छ।

समितिका अनुसार साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । 

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

अहिलेसम्म कृषि विकासका ४ जनाले बचत फिर्ता पाएका छन् । गोरखाका ११ जना, आईडियल यमुनाका ६ जना, कान्तिपुरका ८० जना, नेपाल वित्तियका १२ जना, ओरेन्टलका ३७ जना, शिव शिखरका ६२ जना, पशुपतिका ४ जना, तपाईं हाम्रोका १० जना र स्ट्यान्डर्ड सेभिङका ४ जनाले बचत फिर्ता पाएका छन् । साथै, लालीगुराँसका १३जना, गौतम श्रीका १ जनाले बचत फिर्ता पाएको समितिले जनाएको छ ।