काठमाडौंका सडकमा ‘एआइ’ फिचरका सीसीटीभी क्यामरा जडान

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र आर्टिफिसियल इन्टेलिजेन्ट (एआइ) फिचरका क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) क्यामरा जडान गरिएका छन्।

महानगरपालिकाले नेपाल प्रहरीसँगको सहकार्यमा एआइ भएका एनएफपीआर (अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सीसीटीभी क्यामरा जडान गरेको हो ।

यी क्यामराहरुले घटनासँग सम्बन्धित व्यक्ति तथा बस्तुको पहिचान र तिनीहरु कता गए, कसरी गए भन्ने दृश्य उपलब्ध गराउँछ । यस्ता विशेषता भएका क्यामरामध्ये ३ ठाउँमा एनएफपीआर (सवारी साधन र चालक सम्बन्धी दृश्य तथा विवरण दिने) र १० ठाउँमा एफआरएस (घटनासँग सम्बन्धित व्यक्तिका बारेमा विवरण र दृश्य दिने) क्यामरा राखिएका हुृन् ।

यससँगै सहकार्यबाट सहरमा राखिएका सीसीटिभीको संख्या ३३५ पुगेको छ । २०७५ फागुन १५ गते सम्झौता गरेर आव २०७६÷०७७ मा २५ वटा पीटीजेड (प्यान, टिल्ट, जुम) र १४० वटा फिक्स्ड गरेर १६५ वटा र २०८० बैशाख ७ गते सम्झौता गरेर चालुृ आर्थिक वर्ष (२०८०÷०८१) मा ५ वटा पीटीजेड, १४५ वटा फिक्स्ड, १० वटा एएनपीआर र १० वटा एफआरएस गरी १७० वटा क्यामरा जडान गरिएका हुन् ।

अघिल्लो सम्झौताबमोजिम महानगरपालिकाले नेपाल प्रहरीलाई ३ करोड रुपैयाँ प्रदान गरेको थियो । चालु आर्थिक वर्षमा ६ करोड रुपैयाँ प्रदान गरिनेछ । जसमध्ये पहिलो किस्तामा ३ करोड रुपैयाँ दिइसकिएको छ ।

रात्रीकालीन दृश्य समेत स्पष्ट हेर्न सकिने क्षमताका क्यामरा जडान गर्ने, रात्रीकालीन उज्यालोका लागि सडक बत्ती व्यवस्था गर्ने, निगरानी कक्षका लागि छुट्टै वैकल्पिक पावर सिस्टमको व्यवस्था गर्ने आपसी कामका सूची हुन् ।

सहकार्यमा भएको कामको नतिजा निरीक्षण गर्न महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज उपत्यका प्रहरी कार्यालय रानीपोखरी गएकी थिइन् । सूचना प्रविधि विभाग र योजना अनुगमन तथा मूल्याङ्कन एकाइका अधिकारीसहित निरीक्षणमा गएकी उपप्रमुखले, सीसीटीभी कन्ट्रोल रुम, सर्भर कक्ष, भिडियो वाल, प्रहरी सहयोगका लागि गरिने आकस्मिक फोन १०० (कल सेन्टर) सञ्चालन व्यवस्थापन अनलोकन गरेकी थिइन् ।

‘नेपाल प्रहरीसँग भएको विशेषज्ञताबाट सीसीटिभी क्यामरा जडान सम्बन्धी काम संस्थागत हुन थालेको छ । शान्ति सुरक्षा र सहरी व्यवस्थापनमा तथ्य तथा तथ्याङ्क प्राप्त हुन थालेका छन् । विगत वर्षहरुमा गरिएका अभ्यासहरुबाट नयाँ कामका लागि केही सिकाइ पनि भएको छ,’ निरीक्षणपछि डंगोलले भनिन्, ‘वडाको बजेटबाट पनि सीसीटीभी जडान भएको छ । ती क्यामरालाई प्रहरीको निगरानी कक्षसँग जोड्ने विषयमा सम्भावना अध्ययन गर्नुपर्छ । सम्भव भए जोड्नु पर्छ ।’

निरीक्षणका क्रममा प्रस्तुतिकरण गर्दै प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी उपरीक्षक इञ्जिनियर दामोदर कँडेलले, प्रस्तावकमध्ये प्याकेज १ का लागि सिनर्जी आइटी सोलुसन र प्याकेज २ का लागि इथ्री सेल्स एण्ड सर्भिसेजसँग सम्झौता भएको जानकारी दिए ।

प्याकेज १ को कबोल रकम ४ करोड एकतीस लाख ४२ हजार २७७ रुपैयाँ हो । यसमा ५ वटा पीटीजेड र १४५ वटा फिक्स्ड क्यामरा जडान भएका छन् । यस प्याकेजअन्तर्गत ठमेल क्षेत्रमा ५ वटा पीटीजेड र १२३ वटा फिक्स्ड क्यामरा जडान गरिएका छन् । यस्तै नयाँ सडक क्षेत्रमा ११ वटा र रानीपोखरी आसपास क्षेत्रमा ११ वटा क्यामरा जडान गरिएको उनले जानकारी दिए ।

‘प्याकेज २ का लागि १ करोड ५३ लाख ८९ हजार ८०९ रुपैयाँमा सम्झौता भएको हो । यसमा कोटेश्वर भैरव मन्दिर परिसरमा ४ वटा, महाराजगञ्जमा ४ वटा र नयाँ बसपार्क प्रवेश क्षेत्रमा २ वटा गरी १० वटा एएनपीआर क्यामरा जडान भइसकेको छन् । यस्तै शान्तिबाटिका, बौद्ध गेट, पशुपति मन्दिर मुख्य प्रवेश द्वार, नयाँ बसपार्क टिकट काउन्टर, केन्द्रीय कारागार, न्युरोड गेट, काठमाडौँ मल, ठमेल, विमानस्थल मुल गेट, सिंहदरबार दक्षिण ढोकामा १/१ वटा गरी १० स्थानमा एफआरयस (फेसियल रिकोग्निजेसन सिस्टम) क्यामरा जडान भएका छन् ।

एनएफपीआर र एफआरएस एआइ (आर्टिफिसियल इन्टेलिजेन्ट) फिचर भएका क्यामरा हुन् । यी क्यामराले सवारी साधनको प्रकार, नम्बर प्लेट, रङ्ग, गाडी गुडेको रुट, चालकको अनुहार पहिचान गर्छ ।

कँडेलकाअनुसार लेन क्रस, वन वेमा प्रवेश, ट्राफिक नियम उलङ्घन गर्ने सवारी, अनधिकृत ठाउँको पार्किङ् पहिचान र संकेत गर्छ । यस्तै व्यक्तिहरुको अनुहार पहिचान गर्छ । कुनै व्यक्तिको खोज्नु प¥यो भने यसले व्यक्ति हिँडेको वा पुगेको ठाउँ देखाउँछ । यस्ता प्रणालीले सहरी आवागमन नियन्त्रण गर्न, अपराध नियन्त्रण गर्न, हराएका व्यक्ति पत्ता लगाउन, भागेका सवारी साधन खोज्न तथा सवारी व्यवस्थापनमा निगरानी गर्न सहज हुन्छ ।

यसपछि गौशाला–चावहिल–बौद्ध, हात्तीसार–रातोपुल–गौशाला–विमानस्थल, गौशाला–पुरानो वानेश्वर–नयाँ वानेश्वर, सोह्रखुट्टे–बालाजु, कलंकी–चावहिल रुटमा भएका क्यामरा मिलान र व्यवस्थापन गर्नुपर्नेछ ।

प्रहरी कन्ट्रोल रुमबाट निगरानी गरिने सीसीटिभीहरु क्रमशः एआइमा आधारित बनाउँदै लगिएको छ । यस अघि भिडियो म्यानेजमेन्ट सिस्टम (भीएमएस) मा आधारित थिए । अहिले १ हजार ३५२ हजार ५१ वटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here