१० मंसिर, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेका थिए ।
मलेसिया जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षणका नाममा सङ्कलन गरिएको रकम म्याक्रोटेक कम्पनीमार्फत मलेसियाको बेस्टिनेट कम्पनीमा पठाइएको सम्बन्धमा आवश्यक कागजात तथा विवरण खोजी गर्ने जिम्मेवारी उक्त कार्यदललाई दिइएको थियो ।
कार्यदलले मन्त्रालयका विभिन्न शाखाहरूमा रहेका अभिलेख तथा कागजातहरूको सूक्ष्म अध्ययन तथा गहन खोजबिन गर्दै आफ्नो कार्य अगाडि बढाएको थियो। कार्यदलले दिनरात खटिएर सक्कल फाइल फेला पार्न सफल भएको छ।
साथै, तोकिएको समयसीमाभन्दा अगावै आफ्नो जिम्मेवारी पूरा गरी उक्त फाइल हस्तान्तरण गरेको छ। फेला परेको सक्कल फाइल यस विषयमा थप अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पठाइएको छ।
