‘जग्गा हडप्‍ने, सहकारीका ठग र नागरिकता किर्ते गर्नेहरु जतिसुकै शक्तिशाली भए पनि दण्डित हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले जग्गा हडप्ने होस् चाहे नागरिकतामा किर्ते गर्ने कसैलाई छाड्न नहुने बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा धारणा राख्दै उनले आर्थिक शक्ति वा राजनीतिक पहुँचका आधारमा कसैलाई छुट दिन नहुनेमा जोड दिएका हुन्।

‘जो सुकै होस्, जतिसुकै शक्तिशाली होस्, राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस् नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्दैन ? दण्ड पाउनु पर्दैन ?’ कांग्रेस महामन्त्री थापाको प्रश्न गरे ।

नागरिकता किर्ते लगायतका विषयमा पनि शक्तिको दुरुपयोग हुन नहुने उनको भनाइ छ । थापाले प्रश्न गरे, ‘जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस् हातमा ताकत होस्, कलम होस्, नागरिकता बनाउनलाई किर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ, त्यसकारणले गर्दा किर्ते गरेपनि उसको किर्ते माफी हुन्छ । यसरी चल्छ ?’

सरकारले यी सबैलाई दण्डित कारबाही दायरामा ल्याए एउटा विश्वासको वातारण बन्ने महामन्त्री थापाले बताए। उनले सुशासनका निम्ति सरकारले काम गरेँ भनेर मात्र नहुने भन्दै त्यो काम जनताले महसुस गराउने गरी हुनुपर्ने बताए।

प्रधानमन्त्रीबाट निर्देशन मात्रै धेरै भएको भन्दै महामन्त्री थापाले निर्देशनले मात्रै नचल्ने बताए। ‘निर्देशनले समस्याको समाधान हुँदैन। प्रधानमन्त्रीले दिएपछि मन्त्रीले पनि निर्देशन नै दिन्छ, अनि सचिवले पनि निर्देशन नै दिन्छ अनि कार्यान्वयन गर्ने कसले?’ उनले प्रश्न गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here