अध्यागमन विभागमा अब ‘कागजविहीन’ सेवा

काठमाडौं । अध्यागमन विभागले कागजविहीन अर्थात् पेपरलेस सेवा सुरु गरेको छ । विभागले स्वचालित प्रणालीबाट अफिस अटोमेसन, ई-भिसा र ई-पेमेन्ट सेवा दिन थालेको हो ।

नेपालमा विदेशीको आवतजावत र बसाइँलाई व्यवस्थित गर्न अनलाइनमा आधारित स्वचालित सेवा सुरुवात गरिएको विभागले जनाएको छ ।

अनलाइन सेवा सुरु गरेको नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप्न, पदयात्रा अनुमति लिन सेवाग्राही कार्यालयमा उपस्थित हुनु नपर्ने जनाएको छ । विभागको सूचना प्रणाली नेपाल पोर्ट डट इमिग्रेसन डट जीओभी डट एनपीबाट ई-भिसा पाउन सकिनेछ ।

त्यहाँ आवेदन रुजु भएपछि यात्रुको इमेलमा भौचर आउने र त्यसका आधारमा अनलाइन भुक्तानी गर्न सकिनेछ । अनलाइन भुक्तानीपछि इमेलबाटै इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन अर्थात् ई-भिसा पठाइनेछ ।

त्यस्तै भिजिट भिसामा यूएई, बहराइन, कुवेत, कतार, ओमन तथा साउदी अरेबिया जाने नागरिकले भर्ने स्वःघोषणा फाराम अब अनलाइनबाट भर्न सकिनेछ ।

विदेशमा रहने नेपाली नागरिक तथा विदेशी नागरिकको सहजताका लागि भाइबर, ह्वाट्सएप तथा विच्याट जस्ता समाजिक सञ्जाल प्रयोगको लागि प्रोत्साहित गरिएको विभागले जनाएको छ ।

विभागको सेवा प्रवाह बिहान १० बजेदेखि पाँच बजेसम्म सञ्चालन हुने गरेकोमा अब मङ्गलवारदेखि बिहान आठ बजेदेखि बेलुकी आठ बजेसम्म सञ्चालन हुनेछ । ई-भिसा सुरु भएपछि बिहान सात बजेदेखि बेलुकी नौ बजेसम्म सिफ्ट प्रणालीमा ३६५ दिन नै कार्यालय सञ्चालन हुनेछ विभागको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here