नुवाकोट महोत्सव अवलोकनकर्तालाई दूध र अण्डा निःशुल्क

काठमाडौं । नुवाकोटको विदुरमा जारी आठौं नुवाकोट महोत्सवमा अवलोकनकर्तालाई दूध र अण्डा निःशुल्क उपलब्ध गराइएको छ । महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य संघको आग्रहअनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले अवलोकनकर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराएको हो ।

शुक्रवारदेखि शुरू महोत्सवभित्र स्टल राखेर अवलोकनकर्तालाई एक कप दूध र १/१ वटा उसिनेको अण्डा वितरण भइरहेको विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेले जानकारी दिए ।

उनका अनुसार मेला–महोत्सवलाई सहयोग पुर्‍याउन कार्यालयलाई प्राप्त बजेट र अन्य निकायसँगको सहकार्यमा अवलोकनकर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराइएको हो ।

‘विगतका वर्षमा मेला आयोजकलाई एकमुष्ट नगद सहयोग गर्ने गरिएको थियो’, अधिकृत पाण्डेले भने, ‘सहयोग गरिएको रकम लक्ष्यअनुसार खर्च गराउन चुनौती देखिएपछि महोत्सव अवलोकनकर्तालाई दूध र अण्डाको नियमित सेवनको महत्वको प्रचारसहित उपलब्ध गराइएको हो ।’

महोत्सवमा दैनिक औसत दुई सय ५० लिटर दूध र पाँच हजार वटा हजार अण्डा खर्च भएको छ । मेला अवधिभरका लागि दूध र अण्डा निःशुल्क पुर्‍याउन कार्यालयको बजेट अपुग हुने भएकाले सहयोगी निकायसँग सहकार्य भइरहेको विज्ञ केन्द्रका प्रमुख डा. रामप्रकाश प्रधानले जानकारी दिए ।​

आगामी फागुन ७ गतेसम्म चल्ने आठौं नुवाकोट महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार उद्घाटन गरेका थिए ।

‘ऐतिहासिक, धार्मिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकास : नुवाकोट संस्कृतिको निकाश’ भन्ने नारासहित महोत्सवको आयोजना गरिएको हो ।

जिल्लाका किसानले उत्पादन गरेका कृषि उब्जनीको बिक्री तथा प्रदर्शनी, धार्मिक र सांस्कृतिकस्थल तथा सम्पदाको प्रचारप्रसारमा महोत्सवलाई केन्द्रित गरिएको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here