लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै, वित्तीय संस्थामा ५ खर्ब थुप्रियो

फाइलफोटो

`
काठमाडौं, ६ फागुन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् । अधिक तरलता हुँदा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको उनको भनाइ छ ।

राष्ट्रिय व्यापार संघको साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले भने, ‘बैंक तथा वित्तीय संस्थामा झण्डै ५ खर्व रुपैयाँ लगानीयोग्य रकम थुप्रिएर बसेको छ, सरकारले पुँजिगत खर्च गर्न सकेको छैन । विडम्बना नै भन्नुपर्छ, अधिक तरलता भएर पनि लगानीको वातावरण बन्न सकेको छैन ।’

सरकारको पुँजिगत खर्च अपेक्षा अनुसारको हुन सकेको भए अर्थतन्त्र चलायमान हुने अध्यक्ष मल्लको भनाइ थियो । बैंक वित्तीय संस्थामा उच्च व्याजदरकै कारण लगानी आर्कषित हुन नसकेको पनि उनले बताए ।

अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिए पनि आन्तरिकतर्फ सुधार हुन नसकेको भन्दै उनले पुँजी चलायमान बनाउने गरी आर्थिक र वित्तीय नीति पुनरावलोकन हुनुपर्नेमा जोड दिए ।

विकास खर्च समयमै हुने गरी समयवद्ध तालिका निर्धारण गर्न पनि मल्लले सुझाए । ‘चालु आर्थिक वर्षको सात महिना पुरा भईसक्दा समेत विकास खर्च २१ प्रतिशतमा सिमित छ । शुरुमा महत्वकांक्षी बजेट ल्याउने खर्च गर्न नसकेपछि संशोधन गर्ने परिपाटीलाई अन्त्य गरिनुपर्दछ,’ उनले भने ।

साना तथा मध्यमखाले उद्योग व्यवसायमा ऋण विस्तार गर्नेगरी राष्ट्र बैंकले वित्तीय नीति ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । ‘आन्तरिक उत्पादन हुन नसक्दा व्यापार घाटा चालु आर्थिक वर्षमा ६ खर्व ९३ अर्व रुपैयाँ पुगिसकेको छ । मुलुकको विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार हुने गरी वित्तीय नीति अवलम्वन गर्न आवश्यक छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here