बैकिङ विज्ञ परशुराम कुँवर भन्छन, ‘एनआईसीलगायत सबै बैंक सुरक्षित छन्’

काठमाडौं । बैकिङ विज्ञ परशुराम कुँवर क्षेत्रीले एनआईसी एसियालगायत नेपालका सबै बैंकहरु सुरक्षित रहेको दाबी गरेका छ् । पछिल्ला दिनहरुमा एनआईसीलगायत बैंकहरुका बारेमा भ्रामक हल्ला फैलिएको तर्फ इंकित गर्दै कुँवरले अहिलेको अवस्थामा सबै बैंकहरुको स्वास्थ्य ठिक रहेको र बचतकर्ताले आफ्नो बचतको चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् । कुँवरले सामाजिक सञ्जालमा बैंकहरुको वित्तीय सूचकहरुको विश्लेषण गर्दै बैंकहरुको अवस्था ठिक रहेको बताएका छन् ।

‘अहिले भर्खर एकजना पत्रकार भाइको फोन आयो र वहाँले सोध्नुभयो, तपाईं बैक अफ एसियामा काम गर्दा एनआईसी एसियाको अहिलेको सीईओलाई सचेत गराउनु भएको थियो भन्ने सुनियो सत्य हो र ?,’ उनी लेख्छन, ‘मैले भने यस्तो हावा कुरा कसले सुनायो, यस्ता हावा कुराको पछि नलाग्नु होला, अब आयन्दा त्यस्ता मान्छेहरुको कुरा विश्वास नगर्नुहोला भन्ने सुझाब दिए ।’

कुँवरले सामाजिक संजालमा लेखेका छन, अहिले खासगरी सामाजिक संजालमा कतिपय हावादारी कुरा गरेको, त्यस्ता कुराको पछि लागेको देखिन्छ । बैकिङ क्षेत्र एकदमै संवेदनशिल क्षेत्र हो र यसको अस्तित्व जनताको विश्वासमा टिकेको हुन्छ । यसकारण बैंकहरुको बारेमा कुनै संस्थाको नामै किटेर बोल्दा वा लेख्दा निकै संवेदनशिल हुन जरुरी हुन्छ । अनावश्यक र अनर्गल प्रचार गर्ने, भ्रम सृजना गर्ने, उत्तेजना फैलाउने आदि गर्नु हुदैन । यस्ता प्रचार गर्नेलाई निरुत्साहित गर्ने र राज्यले पनि बेलैमा कानुन बमोजिम आवश्यक कारवाही गर्नुपर्छ ।

राष्ट्र बैंकले खासगरी बैंक तथा वित्तीय संस्थाहरुको बारेमा ठूला संस्थाहरुको अनुगमन अति नै नजिकबाट गरिरहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट विभिन्न तथ्यांकहरु दैनिक, साप्ताहिक, मासिक र त्रैमासिक रुपमा अनुगमन गर्नुका साथै अर्धवार्षिक, वार्षिक लक्ष्यित र विशेष निरीक्षण तथा सुपरिवेक्षण गरेर आवश्यक कारवाही गर्दछ ।

यस्ता कारवाहीको विवरण त्रैमासिक रुपमा पनि प्रकाशित पनि हुँदै आएको छ ।‘यसर्थ धैर्य होऔं, संवेदनशील बनौं, अनर्गल प्रचारको पछि नलागौं, राष्ट्र बैंकलाई विश्वास गरौं, उसलाई काम गर्न दिऔं, नेपालका बैंकहरु दबाबमा छन तर उनीहरुसँग प्रंशस्त तरलता छ,’ उनी थप्छन, ‘खराब कर्जा हालका दिनमा बढेको छ तर, यो स्वीकारयोग्य स्तरमा छ। विभिन्न किसिमका आरोहअवरोहहरु (सक्स्) बहन गर्न पुँजी पर्याप्त छ ।’

यस्तै, नेपाल राष्ट्र बैंकले पनि बैंकहरुको वित्तीय अवस्था बलियो रहेकाले ढुक्क हुन सर्वसाधारणलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here