वैदिक सनातन ‘हिन्दूराष्ट्र नेपाल’ को पक्षमा शशांकको पनि हस्ताक्षर

काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ । बैठक स्थलमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएको हो।

जसमा मंगलबार कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका अभियानको पक्षधरले बताएका छन् । मंगलबार मात्र पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कोइराला र पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाटले पनि हस्ताक्षर गरेका छन्।

कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित प्रस्ताव गरेका थिए। महासमिति बैठकमा हिन्दु राष्ट्रका बारेमा प्रतिनिधिहरूले व्यक्तिगत धारणा राख्ने जनाएका छन्।

महासमिति वैठकको उद्घाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले वैठकको सभा हल अगाडी ‘धर्मनिरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल’को पक्षमा हस्ताक्षर अभियान जारी राखेका छन्।

तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्काले थालेको यो अभियानले २०७९ को त्रिवेणी महासमिति बैठक र २०७८ को काठमाडौं महासमिति बैठकमा पनि हस्ताक्षर संकलन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here