भरतपुर फेरि पनि उत्कृष्ट महानगर, उपमहानगरमा बाराको कलैया, प्रदेशतर्फ कोशी

काठमाडौं । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरका ६ वटा महानगरपालिकामध्ये भने भरतपुर महानगरपालिका नै कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा उत्कृष्ट भएको हो ।

अघिल्लो वर्ष पनि भरतपुर महानगरपालिका सबैभन्दा उत्कृष्ट महानगरपालिका बन्न सफल भएको थियो ।भरतपुर महानगरपालिकामा प्रमुख रेणु दाहाल रहेकी छन् भने उपप्रमुख चित्रसेन अधिकारी रहेका छन् ।

आगामी आव २०८१-८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा प्रदेशको मूल्याङ्कन गरेको छ ।

असार १० भित्र बजेट ल्याए-नल्याएको, असार ३० भित्र बजेट पास गरे-नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिकरुपमा दिए-नदिएकोलगायत आधारमा मूल्याङ्कन गरिन्छ ।

आयोग संवैधानिक निकाय हो । सङ्घीयतामा सङ्घ, प्रदेश र स्थानीय तहहरुको राजस्व बाँडफाँड, अन्तरतह वित्तीय हस्तान्तरण, आन्तरिक ऋण सीमा तथा समग्रमा आर्थिक स्थायित्वको काम आयोगले गर्दै आएको छ । स्थानीय तहलाई एकमुष्टरुपमा समानीकरण अनुदान दिन आधारहरु तयार गरेर मूल्याङ्कन गर्ने गर्छ ।

आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ । आयोगले दिएको जानकारीअनुसार भरतपुरले ५६ दशमलव २९ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

बालेन्द्र साहको काठमाडौँ महानगरपालिकाले ३९ दशमलव ०२, वीरगञ्ज महानगरपालिकाले ३३ दशमलव ४९, विराटनगर महानगरपालिकाले ३२ दशमलव ८५, ललितपुर महानगरपालिकाले २५ दशमलव १८ र पोखरा महानगरपालिकाले २० दशमलव ७४ प्रतिशत अङ्क पाएका छन् ।

कार्यसम्पादन मूल्यांकनमा बाराको कलैया उपमहानगरपालिका उत्कृष्ट उपमहानगरपालिका बन्न सफल भएको छ । देशभरिका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा बढी ४०.९३ अंक प्राप्त गर्दै कलैया उपमहानगरपालिका उत्कृष्ट बन्न सफल भएको हो ।

वित्त आयोगका अनुसार कलैया उपमहानगरपालिकाले ४०.९३ प्रतिशत अंक प्राप्त गरेको छ । दोस्रोमा मकवानपुरको हेटौडा उपमहानगरपालिकाले ३७.११ अंक, तेस्रोमा धरान उपमहानगरपािलकाले ३५.५६ अंक, चौथोमा रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ३५.४१ अंक, पाचौमा कैलालीको धनगढी उपमहानगरपालिकाले ३४.६३ अंक र छैटौमा धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले ३१ अंक प्राप्त गरेको छ ।

यस्तै सातौमा दाङको घोराही उपमहानगरपालिकाले ३०.९० अंक, आठौमा पनि दाङकै तुल्सीपुर उपमहानगरपालिकाले २४.३९ अंक, नवौमा बाकेको नेपालगञ्ज उपमहानगरपालिकाले २३.६४ अंक, १०औ मा बाराको जितपुर सिमरा उपमहानगरपालिकाले २३ अंक र एघारौ तथा अन्तिममा सुनसरीको इटहरी उपमहानगरपालिकाले २२.७ अंक प्राप्त गरेको छ ।

कोशी प्रदेश कार्यसम्पादन मूल्याकनमा सबैभन्दा उत्कृष्ट

सात वटै प्रदेशको हकमा सबैभन्दा बढी ३०.८९ अंक प्राप्त गर्दै कोशी प्रदेश उत्कृष्ट कार्यसम्पादन मूल्यांकन गर्ने प्रदेशमा पर्न सफल भएको छ । २७.२९ अंक प्राप्त बागमती प्रदेश दोस्रो बन्दा २३.०७ अंक प्राप्त गर्दै गण्डकी प्रदेश तेसैो बनेको छ । यस्तै २२.३१ अंक प्राप्त गर्दै मधेश प्रदेश चौथो बन्दा, २१.०८ अंक प्राप्त गर्दै सुदूरपश्चिम प्रदेश पाचौ बनेको छ । २०.९८ अंक प्राप्त गरेर कर्णाली प्रदेश छैटौमा पर्दा सबैभन्दा कम १६.९९ अंक प्राप्त गरेर लुम्बिनी प्रदेश सातौ तथा अन्तिममा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here