२७ असोज, काठमाडौं । आइतबार बिहान सिरिङ्गे हिमालमा गएको हिमपहिरोले उइन्गुलुङ खोला थुनिएर गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीपछि खोजी, उद्धार, राहत तथा पुनर्निर्माणका लागि सरकार तदारुकताका साथ लागिरहेको बताएको छ ।
प्रभावित क्षेत्रबाट १९ विदेशी नागरिकसहित ३१४ जनाको उद्धार गरिएको छ। ५ जना स्थानीय सम्पर्कविहीन रहेकाले सुरक्षाकर्मीहरूले खोजी कार्य जारी राखेका छन् । बाढीपछि अहिलेसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा ७०३ जना सुरक्षाकर्मी परिचालन भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
आरुघाट जलमापन केन्द्रमा नदीको सतह खतराको तह (५ मिटर) नाघेर ८.४३ मिटरसम्म पुगेको थियो। बाढीको सम्भावित जोखिमबाट सुरक्षित राख्न करिब २ लाख नागरिकलाई पूर्वसूचना पठाउनुका साथै प्राधिकरणको कमान्ड पोस्टले तत्काल बैठक बसी अवस्थाको निरन्तर अनुगमन र उद्धार परिचालन सुरु गरेको कार्यालयको भनाई छ ।
बाढीले धादिङ र गोरखाका २०० भन्दा धेरै घरमा क्षति पुग्नुका साथै डेढ सय जति चौरीगाई तथा भेडाबाख्रा बगाएको छ। खानेपानी, निर्माणाधीन जलविद्युत्, विद्यालयलगायतका संरचनासहित मनास्लु पदमार्ग र गोरखा–धादिङ जोड्ने मुख्य सडकका ३ पक्की पुल र २ झोलुङ्गे पुलमा क्षति पुर्याएको छ।
विपद्पछिको प्रतिकार्य तथा पुनर्निर्माणमा पनि सरकार निरन्तर लागिरहेको छ। आज मात्रै काठमाडौंबाट हवाई साधनमार्फत गोरखाको फिलिममा ४ हजार २७० केजी खाद्यान्न र १ हजार ९०० लिटर हवाई इन्धन ढुवानी गरी आपत्कालीन राहत वितरण अघि बढाइएको उल्लेख छ ।
अहिले आरुघाट–सल्यानटार जोड्ने पुल पुनः सञ्चालन गर्न हेटौँडाबाट बेलिब्रिजका सामग्री ल्याएर निर्माण कार्य तीव्र पारिएको छ भने छेपारे भीरमा एक्स्काभेटर परिचालन गरी दोभान–सल्लेरी सडक खुलाउने प्रयास भइरहेको छ। सरकारले दसैँअघि नै सम्पूर्ण अवरुद्ध सडकहरू सञ्चालनमा ल्याउने लक्ष्य राखेको समेत कार्यालयले बताएको छ ।
