मध्य कालीगण्डकी जलविद्युत आयोजनाको स्थलगत भ्रमणमा ढकाल, बाढीको क्षतिले भावुक

२६ असोज, काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइएमई समूहको लगानीमा निर्माणाधीन मध्य कालीगण्डकी जलविद्युत आयोजनाको स्थलगत भ्रमण तथा अवलोकन गरेका छन् ।

उनले कालीगण्डकी नदीमा हालै आएको भीषण बाढीले पुर्‍याएको क्षतिको प्रत्यक्ष अवलोकन गर्दा मन निकै भावुक र स्तब्ध बनेको बताएका छन् । ‘बाढीले सडक, पुल, स्थानीय बस्ती र जनजीवनमा पारेको असर साँच्चै हृदयविदारक छ,’ उनले भनेका छन्, प्रकृतिको यो विशाल रूप अगाडि हामी कति निरीह रहेछौँ भन्ने फेरि एकपटक बोध गराएको छ।’

तर, यति ठूलो विपत्ति र प्रतिकूल परिस्थितिका बीच पनि अवरुद्ध सडक, भत्किएका पुल तथा संरचनाहरूको पुनर्निर्माण र मर्मत कार्य द्रुत गतिमा अघि बढिरहेको देख्दा भने ठूलो आशा र ढाढस मिलेको उनले बताए ।

अहोरात्र खटिएर गरिएको अथक प्रयासकै फलस्वरूप अवरुद्ध बनेको बेनी–जोमसोम सडक खण्ड पुनः सञ्चालनमा आउनु निकै सुखद् र सकारात्मक पक्ष भएको उनको भनाई छ । यसले स्थानीय बासिन्दा, यात्रु तथा सामान ढुवानीका लागि ठूलो राहत पुर्‍याएको र मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूका साथै जोमसोम, लोमान्थाङ र कोरला नाकासम्म पुग्ने पर्यटक तथा सर्वसाधारणका लागि आवागमन सहज भएको उनले बताए ।

संकटको यो घडीमा विपद् व्यवस्थापन, सडक पुनर्स्थापना र राहत कार्यमा देखाएको सक्रियताका लागि नेपाल सरकार, गण्डकी प्रदेश सरकार तथा स्थानीय तहप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

विशेष गरी दिनरात नभनी फिल्डमा खटिएर सडक पुनः सञ्चालन गर्न सफल सडक विभाग, बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्राविधिक तथा कर्मचारी र सुरक्षा निकायका सम्पूर्ण सदस्यहरूको समर्पण र उच्च मनोबलको उनले कदर गरेका छन् । उनले बाढी पहिरोमा परी ज्यान गुमाउनु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

‘भौतिक क्षति पक्कै ठूलो छ, तर हाम्रो सामूहिक संकल्प र आत्मबल त्योभन्दा धेरै बलियो छ। सबैको साथ, समन्वय र सहकार्यबाट हामी यो संकटलाई पार लगाउँदै छिट्टै अझ सबल रूपमा पुनरुत्थान हुनेछौँ भन्नेमा म पूर्ण विश्वस्त छु,’ उनले भनेका छन् ।