काठमाडौं, २६ असोज । संविधानसभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक गरिएको छ ।
संविधानसभाको मानवअधिकार समितिकी सभापति डा. बिन्दा पाण्डे, राष्ट्रिय सभा सदस्य रेनु चन्द, संविधानसभा सदस्य परशुराम रम्तेल, शिखण्डी पुस्तकका लेखक सुशील रिजाल, कानुनकी विद्यार्थी अञ्जली कार्की, शिखा बुक्सका पुष्पराज पौडेल र एक बौद्ध गुरुले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् ।
वक्ताहरूले समाजमा लैङ्गिक तथा यौनिक विविधताबारे रहेको अन्योल हटाउन, पूर्वीय दर्शन र इतिहासमा रहेका सन्दर्भलाई बुझ्न तथा संविधानले सुनिश्चित गरेका अधिकार कार्यान्वयनको अवस्था पहिल्याउन पुस्तक उपयोगी हुने बताए ।
महिला आन्दोलनका क्रममा महिलालाई दोस्रो दर्जाको नागरिक बनाइएको गुनासो उठ्ने गरेको उल्लेख गर्दै डा. पाण्डेले लिङ्गका आधारमा पहिलो, दोस्रो र तेस्रो भन्ने वर्गीकरणलाई उच–नीचको श्रेणीका रूपमा बुझ्न नहुने बताइन् । नागरिकतामा महिला, पुरुष र अन्य उल्लेख गर्ने तथा ‘अन्य’ भित्र आफ्नो पहिचान खुलाउन चाहने व्यक्तिका लागि कोष्ठमा थप विवरण राख्न सकिने अवधारणाबारे पनि छलफल भएको उनले बताइन् ।
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तकले संविधानमा स्थापित अधिकारबारे आम नागरिकमा जनचेतना फैलाउन सहयोग गर्ने विश्वास डा. पाण्डेले व्यक्त गरिन् । अरूको प्रगतिलाई नकारात्मक रूपमा लिनुभन्दा सकारात्मक रूपमा लिनुपर्ने सुझाव दिँदै पाण्डेले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मुद्दालाई विभिन्न राजनीतिक दलभित्र छलफलका रूपमा अघि बढाउनुपर्ने बताइन् ।
त्यस्तै, राष्ट्रिय सभा सदस्य रेनु चन्दले पुस्तकको आवरणले आफूमा जिज्ञासा उत्पन्न गरेको बताइन् । आवरणमा रहेको कङ्काल र छालासहितको मानिसको आकृतिको प्रसङ्ग पुस्तक पढ्दै जाँदा खुल्दै जाने उनले बताइन् । पन्तले विवाद सिर्जना गर्न नभई संवादको ढोका खोल्न पुस्तक लेखेको उल्लेख गर्दै चन्दले पश्चिमी लैङ्गिक ढाँचा सबै समाजका लैङ्गिक अनुभव बुझ्ने एक मात्र आधार नहुने तर्कसँग आफू सहमत रहेको बताइन् ।
चन्दका अनुसार पुस्तकले समयक्रममा शब्दहरूको अर्थ कसरी संकुचित हुँदै जान्छ र त्यसले सामाजिक सोचमा कस्तो असर पार्छ भन्ने विषय उठाएको छ । पहिलो, दोस्रो र तेस्रो लिङ्ग भन्ने शब्दलाई क्रम वा श्रेणीगत उच–नीचका रूपमा नभई वर्गीकरणका रूपमा बुझ्नुपर्ने तर्क पनि पुस्तकमा प्रस्तुत गरिएको उनले बताइन् ।
राजनीतिक नेतृ उषाकिरण तिम्सिनाले २०६२/६३ को जनआन्दोलनमा विभिन्न समुदायको सहभागिता स्मरण गर्दै सुरुमा तेस्रोलिङ्गी तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको सार्वजनिक उपस्थितिलाई आफूले पनि पर्याप्त रूपमा बुझ्न नसकेको बताइन् । त्यतिबेला उनीहरूको अधिकारका लागि गरिएको प्रदर्शन र पहिचानको अभिव्यक्तिबारे आफू अनभिज्ञ रहेको उनले बताइन् ।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राम लोहनीले लिङ्गको वर्गीकरणलाई कालो र सेतो अर्थात् दुईवटा निश्चित श्रेणीमा मात्र सीमित गरेर बुझ्न नहुने बताए । प्राकृतिकरूपमा जन्मिएको व्यक्तिले पाउनुपर्ने नैसर्गिक अधिकारबाट किन वञ्चित हुनुपर्ने भन्ने प्रश्न उठाउँदै उनले समाज र राज्यबाट प्राप्त हुने अधिकारमा विभेद हुन नहुने बताए ।
लोहनीले महाभारत, आयुर्वेद र पुराना संस्कृतिसम्बन्धी ग्रन्थमा तृतीय प्रकृतिका सन्दर्भ रहेको उल्लेख गरे । विगतमा राजदरबारमा रानीको सुरक्षाका लागि तेस्रोलिङ्गी प्रकृतिका व्यक्तिलाई राख्ने प्रचलन रहेको र त्यस्ता व्यक्ति नभेटिए पुरुषलाई नपुंसक बनाउने अभ्याससमेत रहेको उनले बताए ।
‘शिखण्डी’ पुस्तकका लेखक सुशील रिजालले ‘लिङ्ग’ शब्द सुन्ने बित्तिकै महिला वा पुरुषको मात्र ध्यान जाने गरेको बताए । आफू पनि यौनिकता र लैङ्गिकताबारे अलमलमा परेको अनुभव सुनाउँदै उनले शिक्षक नै अलमलमा पर्ने विषय विद्यार्थीका लागि झन् अन्योलपूर्ण हुने बताए । समाजशास्त्र अध्ययन गर्दाको समय अर्थात् २०५७/५८ सालतिर नेपाली भाषामा यस विषयका पुस्तक कम उपलब्ध हुने गरेको उनले स्मरण गरे । त्यतिबेला अङ्ग्रेजी वा हिन्दी भाषाका पुस्तक बढी पाइने गरेको उल्लेख गर्दै उनले अहिले नेपाली भाषामा पनि पुस्तक प्रकाशन बढ्दै गएको बताए ।
पुस्तकका लेखक सुनिल बाबु पन्तले पूर्वीय दर्शनमा लैङ्गिक विविधतालाई अस्वाभाविक वा रोगका रूपमा नभई प्राकृतिक सन्तुलनका रूपमा हेर्ने परम्परा रहेको बताए । पश्चिमी अवधारणाले लैङ्गिक विविधतालाई शरीर र मनबीचको असन्तुष्टि वा उपचार गर्नुपर्ने अवस्थाका रूपमा प्रस्तुत गर्दा व्यक्तिमा हीनभावना बढ्न सक्ने उनको भनाइ छ ।
पूर्वीय दर्शन र परम्परामा तेस्रोलिङ्गी तथा लैङ्गिक विविधता भएका व्यक्तिलाई समाजका लागि उपयोगी, सन्तुलित र विशिष्ट गुण भएका व्यक्तिका रूपमा हेर्ने दृष्टिकोण रहेको पन्तले बताए । त्यस्ता व्यक्तिलाई समाजले सम्मान गर्ने, शुभकार्यमा सहभागी गराउने र सामाजिक जिम्मेवारी दिने परम्परा रहेको उनले उल्लेख गरे।
पन्तका अनुसार पश्चिमी समाजमा महिला वा पुरुषमध्ये कुनै एकको स्वभाव र पहिचानसँग मेल खानुपर्ने मान्यता बलियो छ । जन्मँदा पुरुष ठहरिएको व्यक्तिमा महिलाको स्वभाव वा जन्मँदा महिला ठहरिएको व्यक्तिमा पुरुषको स्वभाव देखिए त्यसलाई विगतमा मानसिक असन्तुष्टि वा समस्याका रूपमा व्याख्या गर्ने गरिएको थियो। पछि यस्ता अवधारणाको भाषामा परिवर्तन आए पनि शरीर र मनबीच सामञ्जस्यता नभएको अवस्थाका रूपमा बुझ्ने दृष्टिकोण कायम रहेको उनको धारणा थियो ।
