आगामी बजेटका सिद्धान्त र प्राथमिकता सदनमा पेस

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका छन् ।

आज बसेको बैठकमा अर्थमन्त्री डा. महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।

सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्‍मा पेस गरेको हो ।

बजेट पेस गर्नु १५ दिनअघि बजेटको सिद्धान्त र प्राथमिकता संसद्मा पेस गर्नुपर्ने व्यवस्था थियो। तर, अहिले ऐन संशोधन गरेर बजेट सार्वजनिक गर्नुभन्दा ३ महिनाअघि नै संसद्मा पेस गरिएको हो।

अर्थमन्त्री प्रकाशशरण महतले यथेष्ट छलफल गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरे अनुसार नै सिद्धान्त र प्राथमिकता पेस गरिएको जानकारी गराए।

‘नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्रीले बजेट तथा कार्यक्रमको बारेमा छलफल गर्न यथेष्ट समय उपलब्ध गराउने बताउनुभएको थियो,’ उनले भने।

प्रधानमन्त्रीको नै आग्रहमा यस वर्षको बजेट निर्माणका लागि क्यालेन्डर केही परिवर्तन गर्ने नीति सरकारले लिएको थियो।

यसैका लागि भनेर सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गरेको हो।

उक्त प्रस्तावमाथि छलफल गर्न सभामुख देवराज घिमिरेले सात दिनको समय तोकेका हुन् । बैठकमा उनले सो प्रस्तावमाथि यही फागुन २१, २२, २३, ३० र चैत १, २ र ४ गते छलफल हुने जानकारी गराएका हुन् ।

दलीय आधारमा छलफल गरिने भएकाले छलफलमा भाग लिने आ–आफ्ना वक्ताको नाम बैठक शुरु हुनुभन्दा एक घण्टा अगाडि नाम टिपाउन उनले भनेका छन् ।

साथै सभामुख घिमिरेले छलफलका क्रममा सांसदहरुले दिएको सुझावको टिपोट गर्न अर्थ मन्त्रालय र संघीय संसद सचिवालयलाई पनि निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here