लोसपा फुट्यो, राजेन्द्र महतोले घोषणा गरे राष्ट्रिय मुक्ति आन्दोलन

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। काठमाडौंको राष्ट्रियसभा गृहमा सोमबार नयाँ अभियानको घोषणा गर्दै उनले लोसपा परित्याग गरेका हुन्। केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका नेता महतोले राष्ट्रिय मुक्ति आन्दोलनको घोषणासमेत गरेका छन्।

उनले ‘बहुराष्ट्रिय राज्य’ स्थापनाका लागि आफ्नो अभियान चल्ने घोषणा गरे। बहुल राष्ट्रिय राज्य स्थापनार्थ ‘राष्ट्रिय मुक्ति क्रान्ति’को नाममा उनले आजबाट बृहत् प्रशिक्षण कार्यक्रम गर्दैछन्। तीन दिनसम्म यो कार्यक्रम चल्नेछ।

यही बखत भएको लिम्बुवानलगायत अन्य आदिवासी जनजातिहरूको पहिचानवादी आन्दोलन पनि सफल हुन नसकेको उनको भनाइ छ। यी सबै आन्दोलनहरू एकल नश्लीय शासन व्यवस्थाविरुद्ध रहेको उनले बताए। देशका सबै उपेक्षित, उत्पीडित समुदायलाई समेटेर अर्को बृहत्तर आन्दोलनको जरुरी भएको र त्यसका लागि लोसपालगायत सबै शक्तिलाई आह्वान गरेको उनको भनाइ छ।

‘हामी पहिचानवादीहरू पनि एकल आयामिक गोल चक्करमा फसेकै कारण विगत चार दशक अगाडी सुरु भएको पहिचानवादी आन्दोलन शासकीय षडयन्त्रको शिकार भई अधुरो रहन गयो। शासन पनि एकल नश्लीय त्यस विरुद्धको आन्दोलन पनि एकल आयामिक। त्यसैले त उत्पीडनमा परेका जनताले चाहेको जस्तो राजनीतिक उपलब्धि प्राप्त गर्न सकेन, देश पनि बन्न सकेन,’ महतोले भनेका छन्।

अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गर्दै नेता महतोले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेन्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउन सक्ने बताए।​

उनले भने, ‘अब गहिरो संकथन गरी अधिकार र पहिचानवादी आन्दोलन बहुआयामिक हुनु जरुरी भइसकेको छ अब हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी सम्पूर्ण उत्पीडित राष्ट्रियताहरू तथा देशमा सुशासन र समृद्धि चाहनेहरू सबै संयुक्त रुपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्ति अर्थात् सम्पूर्ण क्रान्ति आवश्यक भैसकेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here