साझाको सबै सेवालाई गुणस्तरिय बनाउन मन्त्री अर्यालको आग्रह

काठमाडौं, ३१ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साझालाई भएको सम्पत्ति उत्पादनमा लगाउन आग्रह गरेकी छिन् ।

साझा भण्डार सहकारीको १३ औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताइन् ।

साझासँग प्रशस्तै सम्पत्ति देशभर छरिएर रहेको भन्दै त्यसलाई परिचालन गरेर उत्पादनमा लगाउन शेयर सदस्यहराई मन्त्री अर्यालले आग्रह गरेकी हुन् ।

साझासँग रहेको सम्पत्ति जोगाउन आग्रह गर्दै उनले सम्पत्तिको सदुपयोग गरेर उत्पादनमा लगाउन आग्रह गरिन् ।

‘तपाईहरूसँग अथाह सम्पत्ति छ । त्यो सरकारको सम्पत्ति हो त्यसलाई जोगाउनुस । अतिक्रमित सम्पत्ति संरक्षण गर्नुस्’, उनले भनिन् ‘सम्पत्ति छ त्यसको सदुपयोग गरेर थोरै लगानीमा भएपनि गुणस्तरीय वस्तु दिने प्रयत्न गर्नुस ।’

साझा प्रकाशनलाई नयाँ ढंगले अगाडि बढाउने सोचमा रहेको भन्दै मन्त्री अर्यालले विगतमा साझा भण्डारले गुणस्तरीय उपभोग्य वस्तु जनस्तरमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।

समयअनुसार अहिलेको भूमिका अलिक फरक भएको भन्दै उनले संस्थाको प्रभावकारीता वृद्धि गरेर गुणस्तरीय वस्तु विक्रिवितरण गर्नतर्फ ध्यान दिन आग्रह गरिन् ।

रु. ३ अर्ब रकम उपलब्ध गराएर साझा यातायातलाई नयाँ ढंगले अगाडि बढाउन गइरहेको भन्दै मन्त्री अर्यालले त्यसको प्रक्रिया अगाडि बढेको जानकारी दिइन् ।

अब सहकारी संस्थाका सञ्चालकहरू पनि टीका लगाएर नभएर क्षमताका आधारमा प्रतिस्पर्धात्मक ढंगबाट निर्वाचित हुने सिस्टमको विकास गरिएको मन्त्री अर्यालले बताइन् । त्यसको व्यवस्था सहकारी नियमावलीमा गरिएको उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here