चितवनमा डेङ्गु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो

काठमाडौं, ३१ भदौ । चितवन जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार दैनिक सङ्ख्या सङ्क्रमित बढ्दै गएको छ । सरकारी र निजी अस्पतालहरु ज्वरोका बिरामीले भरिएका छन् । डेङ्गुको सङ्क्रमण बढेसँगै जनचेतनाका कार्यक्रमहरु निरन्तर रुपमा भइरहेको उनले जनाकारी दिए ।

स्वास्थ्यसचिव डा पुष्पा चौधरी सोमबार आई सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर मातहतका निकायमा आवश्यक निर्देशन दिनुभएको तिवारीले जानकारी दिइन् ।

तिवारीका अनुसार सचिव चौधरीले सबै निकायको संयुक्त प्रयास बिना रोग निधान नहुने भएकाले समन्वय गरी काम गर्न उनले निर्देशन दिएकी छिन् ।

लार्भा खोज र नष्ट गर अभियान नै उपयुक्त विकल्प भएकाले सोहीअनुसार अघि बढ्न सचिव चौधरीले सबैसँग आग्रह गरेका छन् ।

डेङ्गुका बिरामी थपिँदै जाँदा परीक्षण गर्न कीट अभाव हुने गरेको छ । जसका लागि सहयोग पु¥याउन उद्योग वाणिज्य सङ्घ चितवनले आज भरतपुर अस्पताललाई ५०० वटा कीट उपलब्ध गराएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको उपस्थितिमा सङ्घका अध्यक्ष सहनलाल प्रधानले भरतपुर अस्पतालका निमित्त प्रमुख डा प्रकाश खतिवडालाई कीट हस्तान्तरण गरेका हुन् ।

यसअघि भरतपुर महानगरपालिकाले एक हजार वटा र रोटरी क्लबको अगुवाइमा ५०० वटा कीट अस्पताललाई उपलब्ध गराइएको थियो ।

भरतपुर अस्पतालमा दैनिक ४०० भन्दा बढी ज्वरोका बिरामी आउने गर्दछन् । यसमध्ये १५० हाराहारीको डेङ्गु परीक्षण गरिने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा निशुल्क रुपमा डेङगु परीक्षण हुन्छ भने निजीमा महङ्गो शुल्क तिर्नुपर्ने हुन्छ ।(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here