निजामतिमा उमेर हद ६० वर्ष पुर्याउने प्रस्ताव

काठमाडौं । सङ्घीय निजामती सेवाको गठन, सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । विधेयकमा निजामती कर्मचारीको अवकाश उमेर हद एकमुष्ट रूपमा ६० वर्ष गर्ने प्रस्ताव गरिएको छ ।

यसअघिको विधेयकमा कुनै कर्मचारी अवकाश हुन दुई वर्ष बाँकी हुँदा छ– छ महिना थपेर अवकाश उमेर ६० को प्रस्ताव गरिए पनि अहिले भने अवकाश उमेर हद एकमुष्ट रूपमा ६० वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

त्यस्तै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको हुने तर दस वर्षसम्म भने स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सङ्घीय सरकारले नै पठाउने गरी प्रस्ताव गरिएको छ ।

सङ्घीय सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नपठाए सम्बन्धित प्रदेश सरकारले सम्बन्धित तहको कर्मचारी खटाउने गरी प्रस्ताव गरिएको छ । निजामती कर्मचारीमा श्रेणीगतबाट तहगत प्रणाली हुने गरी विधेयकमा प्रस्ताव गरिएको छ ।

राजपत्राङ्कित विशिष्ट अधिकृत चौधौँ र तेह्रौँ तह कायम गरिएको छ । मुख्यसचिव चौधौँ तहको हुने र सचिव तेह्रौँ तहको हुने गरी प्रस्ताव गरिएको छ ।

त्यस्तै राजपत्राङ्कित प्रथम बाह्रौँ र एघारौँ तह, द्वितीय दशौँ र नवौँ, तृतीय आठौँ, सातौँ र छैठौँ तह कायम गरिएको छ । त्यस्तै राजपत्रअनङ्कित तहमा पाँचौँदेखि पहिलो तहसम्मलाई कायम गर्ने गरी विधेयकमा व्याख्यात्मक टिप्पणी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here