काठमाडौं १, असोज । नेपाल राष्ट्र बैंकले ग्रामिण विकास लघुवित्त वित्तीय संस्थामा रहेको संस्थापक सेयर विक्री गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले बोलकबोल (टेन्डर) आह्वान गरिसकेको छ ।
हाल ग्रामिण विकासमा राष्ट्र बैंकको २ लाख ९९ हजार ९ सय ८२ कित्ता संस्थापक सेयर छ । सो सेयरलाई राष्ट्र बैंकले प्रतिशेयर कम्तिमा १ सय २५ रुपैयाँका दरले विक्री गर्न लागेको हो ।
सो कम्पनीको सेयर किन्न चाहने लगानीकर्ताले कम्तीमा पनि प्रतिसेयर १ सय २५ भन्दा बढी मूल्य तोक्नु पर्ने छ ।
राष्ट्र बैंकले असार ३१ (मंगलबार) यो सूचना जारी गरेको हो । लगानीकर्ताले कात्तिक ४ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । प्राप्त आवेदनमध्येबाट राष्ट्र बैंकले बढाबढको आधारमा सेयर विक्री गर्ने छ ।
यो सेयर ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद गर्न सक्ने छन् । सेयर खरिदको लागि आवेदन गर्दा अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिनेछ ।
सेयर खरिद गर्न आवेदन गरेको कुल सेयर कित्ता जोड्दा यस बैंकले एउटा व्यक्ति, एकाघर परिवारका सदस्य वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ ।
दशमलवमा (खण्डित रुपमा) आउने गरी आवेदन गर्न पाइने छैन । एक प्रस्तावकले एकभन्दा बढी बोलपत्र पेश गरेको अवस्थामा पहिलो प्रस्तावलाई मान्यता दिइनेछ ।
खरिदकर्ताले आफूले खरिद गर्न चाहेको शेयरको धरौटी वापत प्रस्तावित कुल मूल्यको ५ देखि १० प्रतिशत सम्मको रकम यस बैंकको बैंकिङ कार्यालय, बालुवाटार, काठमाडौं मार्फत वित्त व्यवस्थापन विभागको खाता नं. ११०९९०१/०११–००६–५२४ मा जम्मा गरी सोको भौचर संलग्न गरी आवेदन पेश गर्नु पर्नेछ ।
सेयर नामसारी गर्दा खरिदकर्ताको तर्फबाट भुक्तानी गर्नुपर्ने शुल्क समेत स्वयं खरिदकर्ताले भुक्तानी गर्नु पर्नेछ ।
सबैभन्दा बढी दर रेटमा खरिद गर्न प्रस्ताव पेश गर्ने आवेदकलाई सेयर बिक्री गरिनेछ ।
यसबाट पनि सेयर बाँकी रहेमा त्यस पछिको बढी दर रेटमा खरिद गर्न प्रस्ताव पेश गर्ने आवेदकलाई बिक्री गरिनेछ । बोलकबोल सेयर बिक्री गर्दै जाँदा अन्तिम मूल्यमा दुई वा दुई भन्दा बढी आवेदक पर्न गएमा बोलकबोलबाट बाँकी भएको सेयरहरु माग भएको सेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ ।
इच्छुक लगानीकर्ताहरुले आवेदनमा हितग्राही खाता नं.र बैंक खाता नं.अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ ।
शेयर खरिद गर्न इच्छुक खरिदकर्ताले नागरिकताको प्रतिलिपि, कर्जा सूचना केन्द्र लिमिटेडको कालो सूचीमा समावेश नभएको प्रमाणित हुने कागजात, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि समेत संलग्न गर्नु पर्नेछ ।
राष्ट्र बैंकले यसअघि पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रहेको सेयर विक्री गर्न चाहे पनि २० प्रतिशतमात्र विकेको छ । बाँकी १४ प्रतिशत सेयर विक्री भएको छैन । बाँकी सेयर विक्रीका लागि पनि राष्ट्र बैंकले चाँडै सूचना निकाल्ने जनाएको छ ।