सांसदहरुको गुनासोः वाइडबडीले लेखा समितिको साख खायो

काठमाडौं, ९ फागुन । सार्वजनिक लेखा समितिका सदस्यहरुले वाइडबडी जहाज खरीद प्रकरणले सार्वजनिक लेखा समितिकै साख गिराएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका छन् । बिहीबार समितिको बैठकमा बोल्दै सांसदहरुले वाइडबडी जहाजका सम्बन्धमा लेखा समितिको तर्फबाट गम्भीर त्रुटी भएको समेत औंल्याए ।

खासगरी समितिले खरीद प्रक्रियामा संलग्न भन्दै नाम किटान गरेर रकम सहित उल्लेख गरी प्रतिवेदन बनाएको थियो । उक्त प्रतिवेदनउपर अख्तियारले असहमति जनाएपछि विवाद सतहमा आएको हो ।

समितिमा सभापति भरत शाहले अख्तियारका एक उच्च अधिकारीको भनाई उदृत गर्दै प्रतिवेदनका कारण अख्तियारलाई थप छानविनमा असर पुगेको बताएको उल्लेख गरे । त्यसपछि सांसदहरुले वाइडबडीमा सरकारले गरेको वेवास्ता र अख्तियारको आनाकानीका कारण लेखा समितिकै साख गिरेको बताए ।

बैठकमा सांसद हृदयेश त्रिपाठीले समितिको साख गिरेको भन्दै समितिको निर्णयमा सरकारले रेस्पोन्स नगर्दासमेत समिति निरिह बन्नु परेको बताए । सांसद लेखराज भट्टले वाइडबडी काण्डका कारण मानिसहरुले कतै तिमीहरु पनि मिलेर छानविन प्रभावित पारेउ की भन्दै आरोप लाग्न शुरु भइसकेको भन्दै यसमा कमजोरी भएको बताए ।

खासगरी समितिले सरकारलाई निर्देशन मान्न बाध्य पार्न नसकेको भन्दै उनले नेतृत्वको आलोचना गरे । अर्का सांसद प्रेम आलेले नेपाल वायुसेवा निगममा भएको अनियमितामा संलग्न माथि कारवाही गराउन नसक्ने हो भने समितिको औचित्य नै सकिने भन्दै कडा टिप्पणी गरेका थिए ।

सांसदहरुको जवाफमा समिति सभापति भरत शाहले समितिको निर्णय तलमाथि नहुने र आफ्नो इमानदार राजनीतिप्रति प्रश्न नउठाउन सांसदहरुलाई चेतावनी दिए । तपाईहरुले जे पारित गरेको हो, त्यही प्रतिवेदन अख्तियार गएको छ, उनले भने, कसले गिरायो साख ?, कसले गर्यो मिलेमतो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here