महिला उद्यमीका समस्या समाधान गर्ने मन्त्री बादीको प्रतिवद्धता

२२ कात्तिक, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सुर्खेतस्थित लघु औद्योगिक ग्राममा महिला उद्यमीहरूले सञ्चालन गरेका विभिन्न व्यवसायको अवलोकन गर्दै उनीहरूसँग प्रत्यक्ष संवाद गरेकी छिन् ।

अवलोकनका क्रममा मन्त्री बादीले महिला उद्यमीहरूसँग उनीहरूले सञ्चालन गरिरहेका व्यवसाय, भोगिरहेका समस्या, चुनौती र आवश्यकताबारे जानकारी लिइन् । उनले उद्यमीहरूलाई आफ्ना समस्या र आवश्यकताहरू स्पष्ट रूपमा राख्न आग्रह गर्दै प्राप्त सुझावका आधारमा समस्या समाधानको योजना बनाएर प्रक्रिया अगाडि बढाइने बताइन् ।

महिला उद्यमीहरूले व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण ऋण, सीपमूलक तालिम, कच्चा पदार्थको सहज उपलब्धता तथा उत्पादित सामग्रीको बजारीकरण र बजार विस्तारलगायतका विषयमा आफ्ना समस्या तथा सुझाव प्रस्तुत गरेका थिए।

उद्यमीहरूको समस्या समाधानका लागि आफूले योजनाबद्ध रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री बादीले महिला उद्यमीको आवश्यकता र समस्याअनुसार सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय र सहकार्य गरेर काम अगाडि बढाइने बताइन् ।

उनले महिला उद्यमीहरूको सीप तथा क्षमता अभिवृद्धिका लागि छिट्टै तालिम कार्यक्रम सञ्चालन गर्ने पहल गरिने जानकारी दिँदै उत्पादन वृद्धि, कच्चा पदार्थको सहज उपलब्धता, सहुलियतपूर्ण ऋण र उत्पादित वस्तुको बजार विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने स्पष्ट पारिन् ।
महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले मन्त्री बादीले स्थानीय स्रोतसाधनको प्रयोग गरी महिला उद्यमीहरूले उत्पादन गरेका साडी तथा कोटसमेत खरिद गरिन् । उनले स्थानीय उत्पादनको महत्त्व बुझ्दै महिला उद्यमीहरूलाई आफ्नो सीप, क्षमता र उत्पादनमा विश्वास राखेर व्यवसायलाई थप विस्तार गर्न प्रोत्साहित गरिन् ।
महिला उद्यमशीलताको विकास, स्थानीय उत्पादनको प्रवर्द्धन र महिलाको आर्थिक आत्मनिर्भरता अभिवृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री बादीले उद्यमीका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक पहललाई निरन्तरता दिने बताइन् ।