प्रधानमन्त्रीको जवाफ-‘सहकारीको बचत हिनामिनामा रविको कुनै संलग्नता छैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नरहेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री लामिछानेको विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

नेपाली कांग्रेसले केही दिनयता उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले रवि लामिछाने उक्त सहकारीको सञ्चालक समिति, लेखा समिति, वा अन्य कुनै समिति र जिम्मेवारीमा नरहेको तथा अदालतमा विचाराधीन मुद्दामा पनि कतै नजोडिएकाले यसलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरे ।

प्रधानमन्त्रीले भने, ‘सूर्यदर्शन बचत तथा सहकारी संस्थाका एक हजारभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै २०८० साउन २२ गते गरेको जाहेरी दरखास्तमा कसैको नाम किटिएको थिएन । यो दरखास्तउपर प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्न भएको अभियोगमा १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा २०८० असोज १८ गते मुद्दा दायर गरेको थियो । जुन अदालतमा अझै विचाराधीन नै छ ।ती १९ जनामध्ये चारजना पक्राउ परेका छन् भने बाँकीको प्रहरीले खोजी गरिरहेको छ ।’

प्रधानमन्त्रीले रवि लामिछाने प्रतिपक्षमै रहेका बेला सो सहकारी प्रकरणको अनुसन्धान भएको र उनको भूमिका कतै नदेखिएको भन्दै अहिले सरकारमा सहभागी भएका बेला स्वार्थको द्वन्द्व हुने भनी कांग्रेसले उठाएको प्रश्नको औचित्य नरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here