४० वर्षमा नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकोपबाट ९ खर्ब ३० अर्बको क्षति

काठमाडौं । नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकोपबाट विगत ४० वर्षमा (सन् १९८०–२०२० सम्ममा) ७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको समावेशी बीमा र जोखिम वित्त सम्बन्धी नयाँ प्रतिवेदनले सन् १९८० देखि २०२० सम्मको ४० वर्षमा प्रकोपबाट सात अर्ब अमेरिकी डलर बराबरको क्षति भएको उल्लेख गरेको हो। यस्तो क्षतिले देशको आर्थिक विकासको गतिमा प्रभाव पारेको प्रतिवेदनमा उल्लेख छ।

अहिलेसम्म भएको क्षतिमध्ये सर्वाधिक ठूलो क्षति २०७२ सालको गोरखा भूकम्पको थियो। यो भूकम्पले मात्रै कुल आर्थिक क्षतिको ८५ प्रतिशत क्षति पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ।

विपत् उद्धार तथा प्रतिकार्यका लागि नेपाल सरकारले सन् २०१२ देखि २०२० को आठ वर्षमा ५० अर्ब रुपैयाँ खर्च गरेको छ। यसले दीर्घकालीन रूपमा आर्थिक जोखिमलाई घटाउने खालका संयन्त्रहरूको आवश्यकता देखाएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित १० देशमध्ये नेपाल एक रहेको र नेपाल बाढी, पहिरो, भूकम्प र खडेरीको उच्च जोखिममा रहेको उल्लेख गरेको छ।

विभिन्न खालका बीमा कार्यक्रमले न्यून आय भएका र संकटासन्न नेपाली घरपरिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने भए पनि बीमाबारे सचेतनाको कमी र तथ्यांकको अभाव रहेको प्रतिवेदनमा उल्लेख छ। जसकारण बीमा बजार अझै पनि समग्र रूपमा समावेशी हुन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here