आईपीएल आजदेखि, अब ‘डीआरएस’ को ठाउँमा ‘एसआरएस’

काठमाडौं । आईपीएलको नयाँ संस्करण आजदेखि शुरु हुँदैछ । पहिलो खेल साँझ ८:१५ बजे चेन्नईमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ।

धोनीले चेन्नईको नेतृत्व छोडे पनि खेलाडीका रूपमा भने सहभागी हुनेछन् । उद्घाटन समारोहमा बलिउडका चर्चित हस्तीहरुले पनि आफ्नो प्रस्तुति दिने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उद्घाटन समारोहमा चर्चित गायक एआर रहमान र सोनु निगमले प्रस्तुति दिने तय भएका छन्। यसका अतिरिक्त अक्षय कुमार, टाइगर श्राफ लगायतका चर्चित बलिउड कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिनेछन्।

कम्तीमा दुई महिनाको अन्तर्राष्ट्रिय क्रिकेट गुमाएका कोहली फेरि एक पटक मैदानमा फर्कंदै छन् । आफ्नो दोस्रो सन्तान जन्मेको समय परेका कारण उनले इंग्ल्यान्डविरुद्धको पाँच टेस्ट सिरिज खेलेका थिएनन् । धोनी आफैं पनि १० महिनापछि मैदान फर्किन लागेका हुन् । गत वर्ष चेन्नईलाई कीर्तिमान बराबरी हुने पाँचौं उपाधि दिलाएपछि उनले यो सिजनमा संन्यास लिने संकेत गरेका थिए ।

चेन्नई सुपर किंग्सः रचिन रविन्द्र, रुतुराज गायकवाड (कप्तान), अजिंक्य रहाणे, शिवम दुबे, रवीन्द्र जडेजा, डेरिल मिचेल, महेन्द्र सिंह धोनी, मिचेल सान्टनर, शार्दुल ठाकुर, दीपक चाहर, मुस्ताफिजुर रहमान ।

रोयल च्यालेन्जर्स बैंगलोरः विराट कोहली, फाफ डुप्लेसिस (कप्तान), रजत पाटीदार, ग्लेन म्याक्सवेल, सुयश प्रभुदेसाई, दिनेश कार्तिक, क्यामरन ग्रीन, महिपाल लोमरर, रीस टोपले, मोहम्मद सिराज, करण शर्मा ।

यसपटक आईपीएलमा केही नियममा पनि परिवर्तन गरिएको छ । क्रिकेटको टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै पनि बलरले एक ओभरमा एउटामात्र ‘बाउन्सर’ फाल्न पाउँछ । हालसम्म आईपीएलमा पनि यही नियम लागू हुँदै आएको थियो ।

तर, आईपीएलको १७औँ संस्करणमा यो नियममा परिवर्तन गरिएको छ । अब कुनै पनि बलरले प्रत्येक ओभरमा दुईवटा ‘बाउन्सर’ फाल्न पाउने छन् । यसअघि भारतमा आयोजना हुने घरेलु प्रतियोगितामा सैयद मुस्ताक अली ट्रफीमा यो नियमको प्रयोग गरिएको थियो ।

स्मार्ट रिप्ले सिस्टमलाई प्रभावकारी रूपमा प्रयोगमा ल्याउन खेल मैदानमा आठवटा हक–आई क्यामरा जडान गरिने छ । यी क्यामराको मद्दतले खेलमा सटिक निर्णय लिन मद्दत पुग्ने अनुमान गरिएको छ । एसआरएस लागू भएपछि टेलिभिजन अम्पायरलाई पनि हक–आई क्यामरा अपरेटर बस्ने कोठामै राखिने छ ।

हक–आई प्रविधि नियन्त्रण गर्ने कक्षमा दुई जना अपरेटरसँगै टेलिभिजन अम्पायर पनि रहने छन् । त्यही कक्षबाट टेलिभिजन अम्पायरले पनि मैदानमा हुने सम्पूर्ण गतिविधिको अवलोकन गर्नेछन् । यो नियम लागू हुनुअघि डीआरएसबाट खेलको विषयमा कुनै निर्णय लिनु परेमा टेलिभिजन ब्रोडकास्टिङ निर्देशकले टेलिभिजन अम्पायरलाई अपरेटरसँग सम्पर्क गराउने गर्थे ।

एसआरएस लागू भएपछि भने टेलिभिजन अम्पायर आफैले हक–आई क्यामरा नियन्त्रण कक्षमा बसेर आफैले सबै कुराको निरीक्षण गर्नेछन् । सोही आधारमा टेलिभिजन अम्पायरले विवादित विषयमा आफ्नो निर्णय सुनाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here