दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा उनलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

दिल्लीस्थित उनको सरकारी निवासमा प्रवेश गरेका ईडीका अधिकारीले दुई घण्टाको सोधपुछपछि उनलाई नियन्त्रणमा लिएका हुन् ।

ईडीको टोली बिहीबार साँझ ७ बजे १० औं ’समन’ र सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएकाे छ ।

१९ अप्रिलबाट १ जुनसम्म सात चरणमा भारतमा लोकसभाको १८ औं चुनाव हुँदै छ । दुई महिनाको अन्तरालमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमा केजरीवाल विपक्षी गठबन्धनका दोस्रो बहालवाला मुख्यमन्त्री हुन् ।

अन्ना हजारेले चलाएको भ्रष्टाचारविरोधी आन्दोलनमा लागेर चिनिएका केजरीवालले सन् २०१२ को नोभेम्बर २६ मा आम आदमी पार्टी गठन गरेका थिए ।

लगत्तै विधानसभा निर्वाचनमा भाग लिए र २०१३ देखि तीनवटा चुनाव जितेर केजरीवाल लगातार दिल्लीको मुख्यमन्त्री छन् । भ्रष्टाचारविरोधी चेहराका रूपमा परिचय बनाएका र सुशासनको नारा दिएर चिनिएका केजरीवाल भ्रष्टाचारकै आरोपमा पक्राउ परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here